निर्देशक घिसिङ `सीईओ अफ दि इयर´ घोषित
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ `सीईओ अफ दि इयर´ घोषित भएका छन् । अनिल शाह, कामिनी राजभण्डारी, चन्द्र ढकाल र विश्वास ढकाललाई पछि पार्दै उनी सम्मानित भएका हुन् ।पद्मा मिडिया ग्रुपअन्तर्गतको विजनेस प्लस टेलिभिजनले गरेको सीईओ समिट तथा अवार्ड कार्यक्रममा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ सीईओ अफ दि इयर घोषित भएका हुुुन् । काठमाडौंमा विशेष समारोहकावीच सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र पद्मा मिडिया ग्रुपका अध्यक्ष राजुप्रसाद कँडेलले घिसिङलाई अवार्ड प्रदान गरेका थिए । उनले ‘बेष्ट सिइओ अफ पब्लिक सेक्टर’ र सर्वाधिक लोकप्रिय सिइओ अवार्ड पनि पाएका छन् । विद्युतको माग र आपूर्तिको कुशल व्यवस्थापनका लागि उनलाई सम्मान गरिएको हो । अवार्डले थप हौसला मिलेको भन्दै आगामी दिनमा नेपाललाई विद्युतमा आत्मनिर्भर बनाउने गरी काम गर्ने निर्देशक घिसिङले बताए ।
त्यसैगरी विभिन्न विधामा अवार्ड प्रदान गरिएको उक्त कार्यक्रममा वुमन सिइओ अफ दि इयरको अवार्ड द्वारिका होटलकी सञ्चालिका अम्बिका श्रेष्ठले पाइन भने योङ सिइओ अफ दि इयरको उपाधि अस्कर अलीले पाए । कार्यक्रममा पद्मा मिडिया प्रालि तथा बिजनेस प्लस टेलिभिजनका अध्यक्ष राजुप्रसाद कंडेलले स्वदेशी उत्पादनले बजार नपाएको अवस्थामा बिदेशबाट मालसामानहरु आयात भइरहेकोले नेपाली उत्पादनले सहज रुपमा बजार पाउनु पर्ने अवस्था सिर्जना हुनु पर्नेमा जोड दिए । कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुकको आर्थिक विकासका लागि सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए । उनले राजनीतिक उपलब्धि हासिल भएकाले अब आर्थिक विकासमा ध्यान केन्द्रीत गर्नुपर्ने र सबैले एकताबद्ध भएर काम गर्नुपर्ने बताए । बिजनेश प्लस टेलिभिजनको आयोजनामा काठमाडौंमा पहिलो पटक भएको यस सम्मेलनमा नेपालसहित विभिन्न देशका १७ कम्पनीका सीईओहरुको सहभागिता रहेको थियो ।
साभारः सैलुङ अनलाइनबाट
Comments
Post a Comment