बुद्ध लामा भन्छन्: नाम कमाएँ तर दाम कमाइन
नेपाल आइडलको सेकेन्ड सिजन सुरु हुँदै गर्दा पहिलो सिजनका विजेता बुद्ध लामाले आफ्नो असन्तुष्टी बाहिर ल्याएका छन् । अनलाइनखबरसँगको कुराकानीमा उनले नेपाल आइडल बनेर नाम कमाए पनि दाम कमाउन नसकेको गुनासो गरे । ‘यत्रो देश घुमिसकेँ, कत्ति न पैसा कमायो भनेर मानिसहरुले सोच्दा हुन्,’ उनले भने, ‘तर, मेरो गोजीमा एक रुपैयाँ परेको छैन ।’नेपाल आइडलका टप थ्रिले अहिलेसम्म ६ वटा देशको भ्रमण गरेर दर्जनौं कन्सर्टहरु गरिसकेका छन् । तर, यी कन्सर्टहरुमा भाग गीत गाएवापत एक रुपैयाँ पनि आफूहरुले नपाउने बुद्धले बताए । खाने बस्ने खर्च भने टेलिभिजनले व्यहोर्ने गरेको छ । ‘कहिलेकाहीँ पकेट खर्च माग्छु, तर, यति थोरै दिन्छन् कि लिन पनि लाज लाग्छ । नलिएर पनि सुख छैन,’ बुद्धले भने ।
कन्सर्टबाट हुने आम्दानीको केही प्रतिशत आफूहरुले पाउनुपर्ने उनको माग छ । तर बुद्ध नेपाल एपी १ टेलिभिजनसँग एक वर्षको सम्झौतामा बाँधिएका छन् । उक्त सम्झौता बमोजिम उनले कन्सर्टमा भाग लिएवापत अतिरिक्त पारिश्रमिक पाउँदैनन् । बुद्धले आफूले अहिलेसम्म सम्झौतापत्र नपाएको पनि गुनासो गरे । ‘मैले पटक-पटक माग्दा पनि कन्ट्राक्ट पेपर दिएका छैनन्,’ उनले भने । नेपाल आइडलको दोस्रो संस्करणको प्रचार सामग्रीमा बुद्धको फोटो प्रयोग गरिएको छ । सो फोटो आफूले मन नलागी नलागी खिचेको बुद्धले बताए । ‘मन खुशी भएको भए पो फोटो खिच्न मन लाग्थ्यो, करले खिचेको हुँ, हेर्नुस त मेरो अनुहारमा कुनै तेज छैन,’ उनले भने ।
भाडाको घरमा कहिलेसम्म बस्नु ?
नेपाल आइडल बनेपछि बुद्धले नगद २० लाख पुरस्कार, महेन्द्र केयूभी १०० कार र १५ लाखको एल्बम कन्ट्राक्ट जितेका थिए । २० लाख पुरस्कारमा ५ लाख आकस्मिक लाभ कर तिरेर उनले १५ लाख पाउँछन्, जुन तीन किस्तामा उपलब्ध गराइने भनिएको थियो । अहिलेसम्म टेलिभिजनले २ किस्तामा गरेर १० लाख रुपैयाँ दिएको छ । यो पैसा आफूले एक रुपैयाँ नराखिकन बुवालाई सुम्पिएको बुद्धले बताए । ‘बुवालाई घर चलाउन समस्या छ भनेर सबै पैसा दिएँ,’ उनले भने, ‘उहाँले के गर्नुभएको छ, थाहा छैन ।’ एपी १ टेलिभिजनले अहिले बुद्धसहित निशान भट्टराई र प्रताप दासलाई आफ्नै संरक्षणमा राखेको छ । उनीहरुलाई गौशलाको वृहस्पती होटलमा राखिएको छ । खान-बस्न राम्रो सुविधा रहेको बुद्धले बताए । ‘खाने बस्ने खर्च पनि आफैंले व्यहोर्नुपरेको भए त यतिबेलासम्म कंगाल भइसकिन्थ्यो,’ उनले भने ।
सल्टिएन ‘कार विवाद’
‘मलाई कार चाहिँदैन, त्यसको मूल्य बराबरको पैसा दिनुस भनिरहेको छु, तर मान्दैनन्,’ उनले भने, ‘मिस नेपाल जितेको व्यक्तिले कारको साटो पैसा लिएको सुनेको छु, मैले चाहिँ किन नपाउने ?’ बुद्धले केही सकारात्मक कुरा पनि गरे ।’म टेलिभिजनलाई धेरै गाली पनि गर्न चाहन्न किनकी यही टेलिभिजनका कारण म आज यो स्थानमा छु । मलाई पहिले कसैले चिन्दैनथे । तर अहिले सबैको प्यारो भएको छु । देश विदेश घुम्न पाएको छु,’ उनले भने । जतिसुकै अभाव र कष्ट भए पनि आफू संगीतबाट विचलित नहुने बुद्धको प्रण छ । ‘मैले पहिलेदेखि नै संगीतबाहेक अरु केहीमा ध्यान दिइनँ, एक वर्षको कन्ट्राक्ट अवधि सकिएपछि मेरो सांगीतिक करिअरले गति लिनेछ,’ उनले भने । आफूलाई अहिलेदेखि नै विभिन्न गीतको लागि डिमान्ड आइरहेको तर सम्झौताका कारण गाउन नमिलेको उनले बताए । प्लस टुसम्मको अध्ययन गरेका बुद्ध आफ्नो पढाईलाई पनि अगाडि बढाउने योजनामा छन् । ब्याचलरसम्म पढ्ने उनको लक्ष्य छ । उनी होटल म्यानेजमेन्टका विद्यार्थी हुन् ।
पहिलो गीत नै हिट
साभारः अनलाइन खबरबाट
Comments
Post a Comment