सरकारी कार्यालयलाई तारे होटेलमा कार्यक्रम गर्न रोक !

२ चैत, काठमाडौं । खर्च व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएपछि सरकार अनावश्यक खर्च कटौतीमा लागेको छ । अतिरिक्त खर्चको भार कम गर्न र खर्च व्यवस्थापनमा मितव्ययिता अपनाउन तारे होटेलमा कार्यक्रम गर्नसमेत रोक्ने तयारी अर्थ मन्त्रालयले गरेको छ । सरकारी कार्यालयले स -साना कार्यक्रमसमेत तारे होटेलमा आयोजना गरी लाखौं रुपैयाँ सिध्याउन थालेपछि त्यसलाई रोक्न लागिएको अर्थ मन्त्रालयका एक अधिकारीले बताए। केही समयअघि चालू आर्थिक वर्ष (२०७४/७५) को अर्धवाषिर्क समीक्षामार्फत मन्त्रालयले अत्यावश्यकबाहेकका खर्च कटौती गर्ने नीति लिएको थियो ।

बजेट समीक्षामार्फत मन्त्रालयले नयाँ स्थापना हुने कार्यालयबोहक साबिकको कार्यालयका लागि थप कम्प्युटर, ल्यापटप, प्रिन्टर, फर्निचर, सवारी साधन लगायत खरिद नगर्न निर्देशन दिएको थियो । त्यस्तै, चालू खर्चलाई नियन्त्रण गर्न आगामी केही दिनभित्रै मन्त्रालयले मितव्ययिता नीति सार्वजनिक गर्ने तयारी सरकारको छ । त्यस्तै, तलब, भत्ता, पानी तथा बिजुली, संञ्चार महसुल र घरभाडा, बीमा, खाद्यान्न, औषधि खरिद जस्ता अनिवार्य दायित्वको विनियोजित रकम अन्यत्र चालू खर्चमा रकमान्तर नगर्ने घोषणा अर्थ मन्त्रालयले गरिसकेको छ । इन्धन, मर्मत, कार्यालय सामग्री, विविध, सेवा परामर्श, भ्रमण लगायतका चालू खर्च नियन्त्रण गर्ने घोषणा पनि मन्त्रालयले अर्धवाषिर्क समीक्षामार्फत गरिसकेको छ ।

साभारः अनलाइन खबरबाट

Comments