बोरामै सढे किताब, विद्यार्थी वञ्चित

खनियाबास (धादिङ) : कञ्चन तामाङ गणेशकुण्ड माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्छिन्। विद्यालयमा पुस्तकालय हुँदा विद्यार्थीलाई सजिलो हुन्छ, पढ्ने बानी पनि विकास हुन्छ भन्ने उनलाई राम्रोसँग थाहा छ। तर आफ्नो विद्यालयमा पुस्तकालय नहुँदा विभिन्न पुस्तक पढेर ज्ञानको दायरा फराकिलो बनाउने उनको सपना साकार भएको छैन। ‘कुनै दिन शिक्षक नभएको पिरिएडमा पुस्तकालय गएर पढ्न हुन्थ्यो’, उनले गुनासो गरिन्, ‘तर त्यो सुविधा छैन।’ कञ्चन मात्र होइन, धादिङ खनियाबास गाउँपालिकाको गणेशकुण्ड माविका अधिकांश विद्यार्थीलाइ यस्तै समस्या छ। चैतमा हुने एसईई परीक्षा आउनै लागिसक्यो छ। तर पुस्तकालयको समस्याले आवश्यक पूर्वतयारी गर्न उनीहरूलाई गाह्रो भएको छ। ‘अभ्यास किताब पुस्तकालयमा उपलब्ध भइदिएको भए हामीलाई अतिरिक्त कक्षा पढ्दा धेरै सजिलो हुन्थ्यो’, कक्षा १० पढ्ने देउवा तामाङले भने, ‘तर पाइएको छैन।’

हुन त विद्यालयमा पुस्तकालय स्थापनाका लागि जिल्ला शिक्षा कार्यालयबाट अनुदान लिएर आठ महिनाअघि नै किताब खरिद गरिसकिएको छ। तर ती किताब पुस्तकालय होइन, बोरामा थन्किएका छन्। पुस्तकालय अनुदान लिएका धादिङका ४३ विद्यालयमध्ये खनियावास गाउँपालिका–४ मा रहेको गणेशकुण्ड मावि दार्खामा कक्षाकोठा अभाव भएको भन्दै विद्यालयले आठ महिनादेखि किताब बोरामै थन्क्याएर राखेको छ।त्यसमा पनि विद्यालयमा पुस्तकालय स्थापना गर्न गर्न किताब किनिएको कुरा न विद्यार्थीलाइ थाहा छ, न अभिभावकलाई नै। ‘विद्यालयले पुस्तकालयमा राख्न किताब किनेर ल्याएको छ भन्ने कुरा नै थाहै छैन’, कक्षा १० मा अध्ययनरत लक्ष्मी गुरुङले भनिन्। विद्यार्थीको बौद्धिक क्षमता विकास र पाठ्यक्रम सहयोगका लागि हरेक विद्यालयमा पुस्तकालय राख्नुपर्छ। पुस्तकालय स्थापनाकै लागि जिल्ला शिक्षा कार्यालयबाट हरेक वर्ष नदोहोरिने गरी पालैपालो विद्यालयलाई पुस्तकालय स्थापना गर्न अनुदान दिइएको हुन्छ। तर धादिङमा भने पुस्तकालयको अनुदान सदुपयोग भएको पाइएको छैन।

‘हामीले अघिल्लो आर्थिक वर्षमै अनुदान लिएका हौँ, गत असारमै किताब किनेर ल्याइए भए पनि अहिलेसम्म बोरामै राखिएको छ’, विद्यालयका प्रधानाध्यापक रवीन्द्र चौधरीले भने, ‘विद्यालयमा कक्षाकोठा अभाव भएकाले पुस्तकालयका किताब फिँजाएर राख्न नपाएका हौँ।’ भूकम्पबाट कक्षाकोठा सबै भत्किएका छन्। त्यसैले कक्षा १० का ऐच्छिक विषय विद्यार्थीलाई खुला चौरमा राखेर पढाइरहनुपरेको उनको भनाइ छ। पुस्तकालयका लागि कक्षाकोठा नभएरै अझैसम्म किताब बोरामै थन्काउनुपरेको उनले बताए। विद्यालयमा अहिले बालविकास पढाइरहेको कक्षाकोठाको कुनामा बोरामा सबै किताब कोचिएका छन्। आठ महिना अघिदेखि पुस्तकालयका किताब बोराभित्रै कोचिँदा पनि विद्यालय व्यवस्थापन समितिले कुनै चासो नदेखाएको शिक्षकहरू बताउँछन्। पुस्तकालय अनुदान लिएका धेरैजसो विद्यालयले साझा प्रकाशनका पुराना र शैक्षिक कार्यक्रमलाई सहयोग नपुग्ने खालका किताब किनेको जिल्ला शिक्षा कार्यलय धादिङले जानकारी दिएको छ।

‘पुस्तकालय अनुदान लिएका धेरैजसो विद्यालयले साझा प्रकाशनको नबिकेका पुराना किताब लिएका छन्’, जिल्ला शिक्षा अधिकारी माधवराज शर्माले भने, ‘यस्ता पुस्तक एक सय थान किन्दा अर्को एक सय थान सित्तैमा पाइन्छ। त्यस्तै किताब ल्याएका छन् भन्ने सूचना आएको छ, अनुगमनमा त्यस्तो पाइउ विद्यालयलाई पाठ्यक्रमसँग सम्बन्धित थप पुस्तक किन्न निर्देशन दिनेछौँ।’ विद्यालयका पुस्तकालयमा राखिने किताब विद्यार्थीको पाठ्यक्रमसँग सम्बन्धित, शिक्षक निर्देशिका, सन्दर्भ सामग्री, अभ्यास किताबलगायत हुनुपर्ने प्रावधान छ। तर गणेशकुण्ड माध्यमिक विद्यालयमा किनिएका किताब साझा प्रकाशनबाटै खरिद गरिएको प्रधानाध्यापक चौधरीले बताए। ‘गत असारमै साझा प्रकाशनबाट हामीले एकमुष्ट रूपमा किताब किनेका हौं’, उनले भने। पुस्तकालय नहुँदा विद्यार्थीको पठनसीप विकासमा गाह्रो हुने शिक्षकहरू बताउँछन्।

साभारः अन्नपूर्ण पोष्टबाट

Comments