‘प्लान-बी’मा कुलमानः कम बिजुली खपत गर्ने मोटर र पंखा अायात !
४ फागुन, काठमाडौं । माग व्यवस्थापन गर्न विद्युत् प्राधिकरणले कम ऊर्जा खपत गर्ने पंखा र पानी तान्ने पम्प ल्याउँदैछ । त्यसबाट करिब तीन सय मेगावाट माग घटाउने प्राधिकरणको योजना छ । र, उक्त योजनाको नाम दिइएको छ, ‘इनर्जी इफिसिएन्सी प्रोग्राम’ । प्राधिकरणको जिम्मेवारी सम्हालेपछि कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् व्यवस्थापन गर्न उक्त कार्यक्रम अगाडि सारेका थिए । प्राधिकरण सञ्चालक समितिको १० माघको बैठकले कम विद्युत् खपत गर्ने पंखा र पम्प आयात गराउने निर्णय गरेको थियो । सोहीअनुसार कम्पनी छनोटको प्रक्रिया अगाडि बढाइएको छ । र, ग्लोबल टेन्डरको तयारी भइरहेको छ । प्राधिकरणका सञ्चालक चेतराज जोशीका अनुसार छनोटमा पर्ने कम्पनीले वितरण केन्द्रहरुमार्फत् पंखा र मोटर बिक्री गर्नेछन् । पहिलो वर्षका लागि दुई लाख पंखा र दुई हजार पम्प ल्याउने योजना छ, प्राधिकरणको । पहिलो वर्षमै करिब तीन सय मेगावाट माग घटाउन सकिने निष्कर्ष कार्यकारी निर्देशक घिसिङको छ ।
पहिलो प्रयासमा ठेस
‘प्लान-बी’मा प्राधिकरण
गर्मीयाममा पंखाको अत्यधिक प्रयोग हुने भएकाले माग धान्न हम्मे पर्छ, प्राधिकरणलाई । कम ऊर्जाबाट चल्ने पंखा ल्याउने योजना बनाउनुको कारण पनि त्यही हो । शहर/बजारमा पानी तान्ने पम्पको पनि अत्यधिक प्रयोग हुने गर्छ । सुख्खा र वर्षा दुवै याममा त्यस्ता पम्पको प्रयोग अत्यधिक छ । र, पानी तान्ने मोटर नै कम ऊर्जा खपत गर्ने प्रयोग हुँदा माग व्यवस्थापन सहज हुने कार्यकारी निर्देशक घिसिङको बुझाइ देखिन्छ । चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना आगामी वर्षको हिउँदसम्ममा सञ्चालनमा आउँदैछ । तर, सुख्खायाममा उक्त आयोजनाबाट एकतिहाइ मात्रै विद्युत् उत्पादन हुन्छ । र, अन्य ठूला आयोजना सञ्चालनमा नआउन्जेल विद्युत् खपत कम गर्ने उपाय खोज्नुको विकल्प पनि प्राधिकरणसामु देखिँदैन ।
साभारः अनलाइन खबरबाट
Comments
Post a Comment