तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने
७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आईपीएलमा आफ्नो नाममा बोली लाग्दा उनी डिभिजन टूको तयारीका लगि दुबईमा थिए । त्यहीँबाट नामबिया पुगे र नेपाललाई विश्वकप छनोटमा स्थान पक्का गराएर शनिबार मात्र स्वदेश फर्किएका छन् । सोमबार गृहनगर चितवनमा ओर्लिँदा समर्थक र सुभेच्छुकबाट घेरिएका सन्दिपले एउटा अनपेक्षित प्रश्नको सामना गर्नुपर्यो । प्रश्न थियो, प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा र गायक उदितनारायण झा चर्चित बनेसँगै भारत भाँसिए । सन्दिपले भोलि त्यो गर्दैन भन्ने के छ र ?
१७ वर्षे सन्दिप झस्किए । केही नर्भस जस्तो देखिए । तर, प्रष्ट शब्दमा भने, ‘मेरो लागि देशभन्दा ठूलो केही छैन । म त्यो परिकल्पना गर्न पनि सक्दिन ।’ उनले अघि भने, ‘यदि नेपालबाट नखेलेको भए म यहाँसम्म नपुग्न सक्थेँ । किनभने नेपालका लागि खेलेँ र सबैले चिने । त्यसैले म आफ्नो बेस कहिल्यै बिर्सन्न ।’ स्याङ्जामा जन्मिएका बाल्यकालमै बाबुसँग भारत पुगेका सन्दिपले त्यहीँ क्रिकेटको सामान्य ज्ञान लिएका थिए । १२/१३ बर्षको उमेरमा नेपाल आएर चितवन क्रिकेट एकेडेमीमा आवद्ध भएका उनी नेपालको तत्कालीन प्रशिक्षक पुवुदु दशानायकेको नजरमा परेपछि पछि फर्कनुपरेको छैन । राष्ट्रिय टोलीमा डेब्यू गरेसँगै अष्ट्रेलियन क्रिकेटर माइकल क्लार्कको साथ पाए । आफ्नो प्रदर्शनलाई तिखार्दै लगेका उनी आईपीएल टिमदिल्ली डेयरडेभिल्समा अवद्ध भएका छन् । आईपीएलमा पुग्ने उनी पहिलो नेपाली क्रिकेटर हुन् ।
प्लेइङ लिष्टमा पर्नेमा आशावादी छु
साभारः अनलाइन खबरबाट
Comments
Post a Comment