रेडियोमा प्रत्यक्ष प्रसारण गर्दागर्दै जन्मियो बच्चा, स्रोताले राखिदिए नाम

१० फागुन, काठमाडौं । रेडियोमा लाइभ कार्यक्रम चलाउँदा चलाउँदै प्रस्तोता सुत्केरी हुन्छिन् । र, उनले जन्माएको बच्चाको नाम स्रोताहरुले नै राखिदिन्छन् । तपाईंलाई यो कुरा पढ्दा र सुन्दा पक्कै अचम्म लाग्यो होला । तर अचम्म मान्नुपर्दैन । प्रसव पीडा र सुत्केरीको पनि रेडियोमा प्रत्यक्ष प्रसारण गरिएको कुरा सत्य नै हो । यो अमेरिकाको घटना हो । अमेरीकाको सेन्ट लुइसस्थित ‘द आर्क स्टेशन’की प्रस्तोता केसेडे प्राक्टरले सोमबार प्रत्यक्ष प्रसारणको एक कार्यक्रम चलाउँदै थिइन् । कार्यक्रम चलाउँदा चलाउँदै उनलाई प्रसव पीडा सुरु भयो । उनलाई तत्काल अस्पताल पुर्याइयो र अस्पतालभित्रैबाट पनि उनी सुत्केरी भएको प्रत्यक्षण प्रसारण गरियो । रेडियो स्टेशनले अस्पतालको शय्याबाट पनि पत्यक्ष प्रसारणको व्यस्था मिलाएको थियो । बीबीसीसँग कुरा गर्दै प्राक्टरले भनेकी छन्- यो मेरालागि एक शानदार अनुभव थियो । सुत्केरी हुने भनेर डाक्टरले दिएको मितिभन्दा पहिले नै प्रसव पीडा सुरु भयो । त्यसैले अचानक कार्यक्रमको पनि तयारी गर्नुपर्यो ।

प्राक्टरले भनिन्, ‘जीवनको यति महत्वपूर्ण क्षण स्रोताहरुसँग बाँड्न पाउनु मेरो लागि शानदार थियो । यो मेरो जीवनको सबैभन्दा राम्रो अनुभव हो ।’ प्राक्टरले बच्चालाई लाइभ शोमा जन्म दिनु आफ्नो नियमित कामकै बिस्तारित रुप भएको बताएकी छन् । उनले भनिन्, ‘यो मेरो कामकै बिस्तार हो, जो म हरेक दिन गर्दछु । म आफ्नो जिन्दगीको हरेक पल आफ्ना स्रोताहरुसँग शेयर गर्दछु ।’ प्राक्टरले बच्चाको नाम जेमसन राखेकी छन् । यो नाम पनि स्रोताहरुबाटै सुझाव लिएर राखिएको हो । बच्चाको नाम के राख्ने भनेर रेडियोमा भोटिङ गरिएको थियो । सबैभन्दा धेरै स्रोताहरुले रोजेको आधारमा बच्चाको नाम ‘जेमसन’ राखियो । रेडियो स्टेशनका कार्यक्रम निर्देशक स्कट राडीले स्थानीय मिडियासँग भनेका छन्, ‘दम्पतीले छानेका १२ नामलाई हामीलाई भोटिङमा लग्यौं । जेमसनको जन्म हुँदासम्म भोटिङ चलिरहेको थियो ।’ प्राक्टर अहिले रेडियो कार्यक्रमबाट टाढा भएकी छिन् । किनकी उनी केही दिनका लागि सुत्केरी विदामा छिन् ।

साभारः अनलाइन खबरबाट

Comments