वाणिज्य बैंकको ९ करोड घोटाला प्रकरणः दुई पक्राउ, मुख्य अभियुक्त फरार
१६ फागुन, बिराटनगर । राष्ट्रिय वाणिज्य बैंक, बिराटनगर शाखामा भएको घोटला काण्डमा संलग्न दुई जनालाई मोरङ प्रहरीले सार्वजनिक गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय, मोरङको कार्यालयमा आयोजित पत्रकार सम्मेलनकाबीच विराटनगर रानीस्थित भन्सार शाखाको सुख्खा बन्दरगाहा काउण्टर इञ्चार्ज वरिष्ठ सहायक तोर्णराज राउत र बैंकका शाखा प्रबन्धक बिष्णुप्रसाद निरौलालाई सार्वजनिक गरिएको हो । राउतको वयानका आधारमा शाखा प्रबन्धक निरौलालाई मंगलबार साँझ कार्यालयबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उनीहरु दुवैलाई मोरङ प्रहरीले उच्च अदालतमा बैङ्किङ कसुर र सजय ऐन अन्तगर्त मुद्दा चलाएको छ । प्रहरीले ६० दिन म्याद रहने भएकाले उनीहरुका बारेमा अहिले अनुसन्धान गरिरहेको जनाएको छ । सोही घटनामा संलग्न भएका भन्सार एजेन्ट ललित बोहरा र प्रतिनिधि सुरेश बोहरा हालसम्म फरार रहेको मोरङका प्रहरी प्रमुख एसपी अरुण बिसीले जानकारी दिए । उनीहरुको खोजी भइरहेको छ । उनीहरु भारतमा लुकेर बसेको स्रोत बताउँछन् । तर, बिसीले भन्छन्, ‘अदालतमा मुद्दा दर्ता भएपछि पनि इन्टरपोलका सहायता लिएर भए पनि फरार अभियुक्तहरुलाई प्रहरीले नियन्त्रणमा लिनेछ ।’
९ करोड ६१ लाख ५५ हजार घोटाला
प्रहरीले बैक घोटला काण्डको अनुसन्धान गर्नका लागि गएको ९ पुसदेखि १९ माघसम्मको भन्सार एजेण्ट सुरेशमार्फत कारोबार भएको सम्पूर्ण विवरण पनि भन्सारसँग माग गरेको छ । जुन अवधिमा विभिन्न ४९ वटा औद्योगिक फर्महरुको बस्तु आयातको भन्सार शुल्कको कारोबार भएकोमा भन्सार एजेण्ट सुरेशमार्फत ४६ वटा फर्मले कारोबार गरेका थिए । उक्त अवधिमा १८ करोड ४० लाख ४४ हजार ७ सय ६५ रुपैयाँको कारोबार भएको थियो ।
साभारः अनलाइन खबरबाट
Comments
Post a Comment