नेपाल आइडलका बुद्ध, प्रताप र निशानलाई पनि पत्याएन जापानले !

१३ फाल्गुन, काठमाडौं । नेपाल आइडलका टप थ्रीलाई प्रत्यक्ष भेट्ने मौका यसपाली जापानवासी नेपालीले चुकाउने भएका छन् । नेपाल आइडलका विजेता बुद्ध लामा, फर्स्ट रनअरअप निशान भट्टरार्इी , सेकेण्ड रनअरअप प्रताप दासको सहभागितामा हुने भनिएको ‘हिमालय ल्होसार नाइट’ कार्यक्रय रद्द भएपछि उनीहरुलाई भेट्ने अवसर उनका फ्यानहरुले गुमाएका छन् । भिसा उनीहरूका लागि बाधक बनेको हो । विश्व टुरमा निस्किएका नेपाल आइडलका बुद्ध, प्रताप र निशानलाई जापान प्रेवश गर्न भने जापान सरकारले रोकिदियो । आयोजक गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको एक सदस्यका अनुसार कलाकारको भिसामा समस्या देखिएपछि अन्तिममा आएर ‘हिमालय ल्होसार नाइट’ कार्यक्रम स्थगित हुन पुगेको हो ।

बुद्ध, प्रताप र निशानसँगै नेपाल आइडलका प्रतिस्पर्धी सन्ध्या जोशी, केन्जलमेहर श्रेष्ठ, मोडल एलिशा राई, उद्घोषक सुशिल नेपाल पनि जापान अाउने तयारीमा रहेका थिए । आयोजक एनआरएनए जापानले भने विज्ञप्ति निकाल्दै समय अभावका कारण कार्यक्रम स्थगित गर्न बाध्य भएको बताएको छ । आपतकालीन राहतकोष (जापानमा बस्ने नेपालीहरूमा भइपरी आउँदा खर्च गरिने कोष) अभिवृद्धिका लागि हुने भनिएको कार्यक्रमको तयारी तथा व्यवस्थापनका लागि समय अभाव भएको भन्दै आयोजकले कार्यक्रम स्थगन गर्न परेको विज्ञप्तिमा भनेको छ । कार्यक्रम जापानका प्रमुख शहर टोकियो, नागोया र फुकुओका लगायत अन्य शहरहरुमा पनि हुने तयारी थियो ।

सुरजलाई पनि दिएन भिसा

त्यस्तै केही महिनाअघि जापान अउने तयारीमा रहेका नेपाल आइडलका अर्रका प्रतिस्पर्धी सुरज थापालाई पनि जापान सरकारले भिसा दिएन । सुरज गल्कोट समाज जापानको निमन्त्रणामा सांगीतिक कोसेली लिएर जापान अाउन लागेका थिए । नेपाल आइडलको स्टेजमा झलकमान गन्धर्वको ‘आमाले सोध्लिन् की’ गीत गाएपछि सुरजको चर्चा चुलिएको थियो । तर, नेपाल आइडललाई मात्र हैन जापान सरकारले अन्य कलाकारका लागि पनि भिसा दिन पूर्ण रुपमै बन्देज गरेको छ । जापानले तीजको बेला पनि दुई दर्जनभन्दा बढी कलाकारहरुलाई भिसा नदिएपछि आयोजकहरु तनावमा थिए । त्यस्तै भिसा पाएर जापानको एअरपोर्टसम्म पुगेर पर्कदाको पनि पीडा पनि थुप्रै कलाकारले चाखेका छन् । कति कलाकार कागजपत्र नमिलेर फर्किन बाध्य छन् त कति स्पोन्सरसँग तालमेल नमिल्दा मलिन अनुहार लिएर पर्केका छन् ।

साभारः अनलाइन खबरबाट

Comments