च्याम्पियन्स लिगमा टिकेको छ जिदानको भविश्य

१२ माघ, काठमाडौं । रियल मडि्रडको इतिहासमा लेगान्सविरुद्धको यति महत्वपूर्ण कोपा डेल रे भिडन्त विगतमा कमै थिए । तर, प्रशिक्षक जिनेदिन जिदानले आफ्ना दुई प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डो र गेराथ बेललाई बेन्चमा राखे । परिणामस्वरुप रियल मड्रिड उनीहरुको ‘लुरे’ छिमेकीद्वारा कोपाबाट हुत्याइयो । हारको ठूलो चोट प्रशिक्षक जिदानलाई लागेको छ । उनले आगोसँग खेल्ने निर्णय गरेका थिए, तर आफैं नराम्रोसँग जल्न पुगे । उनी अति आत्मविश्वासको शिकार बनेका छन् । जिदानलाई थाहा हुनुपथ्र्यो कि रोनाल्डो वा बेलको आवश्यकता पर्न सक्छ । ‘कांक्रो उब्जाउने टिम’ भनेर चिनिने लेगान्सलाई मडि्रडले जुनसुकै खेलमा, जुनसुकै स्थानमा र जुनसुकै परिस्थितमा पनि हराउने अपेक्षा गरिन्छ । तर, मड्रिडको ड्रेसिङ रुममा मनोबल खस्केको बेला बुधबारको क्वार्टर फाइनल रिटर्न म्याचमा अर्कै नतिजा निस्कियो । बराबर भएको भए पनि प्रतियोगिताबाट मड्रिड बाहिरिने थिएन, तर उसले बेर्नाबेउमा २-१ ले नतिजा सुम्पियो ।

जिदान र उनको संघर्षरत टिमका लागि ला लिगा मात्र होइन, कोपा डेल रे कपबाट पनि सकिएको छ । र, फ्रान्सेली प्रशिक्षकको जागिरको भविश्य अब च्याम्पियन्स लिगमा लट्किएको छ । उनले बुधबारको हारको सम्पूर्ण जिम्मेवारी आफूले लिएका छन् । फेबु्रअरीको च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मन (पीएसजी) विरुद्धको भिडन्तको नतिजाले आफ्नो भविश्य निर्धारण गर्ने उनको स्वीकारोक्ति छ । ‘हो, यो एकदमै प्रष्ट छ,’ जागिर दाउमा परेको छ कि भन्ने प्रश्नमा जिदानले जवाफ छ, ‘म यसको लागि जिम्मेवार छु, किनकी म प्रशिक्षक हुँ ।’ उनले अगाडि भने, ‘मैले समाधान निकाल्नैपर्छ । परिस्थितिलाई सम्हाल्नैपर्छ । म सँधै लडिरहनेछु, काम गरिरहने छु र टिमलाई राम्रो बनाउने उपाय खोजिरहनेछु ।’ टिमका प्रमुख दुई खेलाडीलाई बेन्चमा राख्ने निर्णयको भने बचाउ गरेका छन् । ‘उनीहरुलाई बाहिर राखेकोमा मलाई पछुतो छैन’ उनले भनेका छन्, ‘केही खेलाडीहरुलाई आरामको जरुरत पर्छ । कागजमा यो प्रतिस्पर्धी टिम थियो तर, पहिलो हाफमा हामी कमजोर देखियौं ।’

बुधबारको म्याचमा मध्यान्तरपूर्व मडि्रडले विपक्षी गोलपोष्टमा एउटा पनि सटिक प्रहार गर्न सकेको थिएन । यो प्रदर्शन आफ्नो टिमलाई प्रतियोगितामा टिकाउन पर्याप्त नरहेको जिदानको स्वीकारोक्ति छ । ‘प्रतिस्पर्धीले आफ्नो खेल देखाए, हामीले सकेनौं । नतिजा जे आयो, त्यो तार्किक थियो । यो मेरो असफलता हो’ उनले भने, ‘म आफैंसँग रिसाएको छु, खेलाडीहरुसँग होइन । मेरा खेलाडीहरुले सक्दो प्रयास गरेकै होलान् ।’ सन् २०१७-१८ मडि्रडको इतिहासमै सबैभन्दा खराब सिजन हुन सक्छ कि भन्ने प्रश्नमा जिदानले भने, ‘म सँधै सकारात्मक सोच्छु । शनिबार हाम्रो एउटा म्याच छ र १४ फेब्रुअरीमा च्याम्पियन्स लिग गेम छ । त्यसमा राम्रो गर्ने मेरो दाउ हो ।’

साभारः अनलाइन खबरबाट

Comments