चितवनमा हवाई यात्रुको अत्यधिक चाप, टिकट पाउनै मुश्किल

चितवन । ५ वर्षअघि भरतपुरदेखि काठमाडौंसम्मको विमान भाडादर २६ सय ५० थियो । मानिसहरु भरतपुर विमानस्थल वरपर जहाज हेर्ने पखाईमा हुन्थे । विमानस्थलको बाहिरी जालीबाट नियाल्थे, तर जहाज नै चढ्ने आँट गर्दैनथे । दैनिक मुश्किलले ४ वटासम्म उडान हुन्थ्यो । हिजोआज भाडादर तीन हजार पाँच सय निर्धारण गरिएको छ । यहाँबाट हुने उडानमा टिकट पाउँदा ठूलै युद्ध जितेजस्तो हुन थालेको छ । टिकट पाउन दबाब र सोर्सफोर्स पनि हुन्छ । कहिलेकाहीँ त विमानस्थल आमसभा गर्ने ठाउँजस्तै बन्छ । सानो टर्मिनल भवनमा बस्ने ठाउँ त परको कुरा, उभिएर भीड छिचोल्न समेत मुश्किल हुन्छ । वुद्ध एयरका भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेत दैनिक १ हजारभन्दा बढी फोन आउने बताउँछन् । उनी भन्छन्, ‘कतिबेला विमानको आवाजले पनि फोन उठाउन सकिदैन । दिनभर जस्तो नै तनाव हुन्छ । कतिपय साथीभाइ टिकट माग्दा पनि नदिने भनेर रिसाउँछन्, बाध्यता बुझ्दैनन् ।’

बस्नेतको जस्तै समस्या छ यति एयरलाइन्सका एसिसटेन्ट स्टेशन इन्र्चाज अनुप ढकालको पनि । ‘दैनिक सयौं यात्रु टिकट नपाएर र्फकने गरेका छन् । कतिपय हाम्रा नै लिमिटेसनहरु हुन्छन्, कतिपय प्राविधिक विषय पनि ।’ हवाई यात्रुको बढ्दो चापबारे भरतपुर विमानस्थलका प्रमुख पवन गौतम भन्छन् ‘यहाँका मानिसका लागि विमानको यात्रा युज टु भइसक्यो, सुविधाभोगी भयौं, ब्यापारिक केन्द्र पनि हुँदै गएको छ । विहान गएर बेलुका आउने प्रवृत्ति पनि बढेको छ । टुरिजम पनि बढ्यो । सेफ्टीको कुरा पनि भयो ।’ भरतपुरबाट काठमाडौं र पोखरा उडान हुँदै आएको छ । भैरहवा र बाराको बीचका भेगका यात्रुले पनि यही विमानस्थल प्रयोग गर्ने भएकोले गर्दा पनि यसको महत्व बढ्दै गएको छ ।

विमानस्थलका प्रमुख गौतमले तत्कालै टर्मिनल भवन विस्तार गर्न नसकिने अवस्था रहेको जनाए । ‘भवन सानो भएको अनुभूति हामीलाई पनि भएको छ । यात्रुहरुलाई पनि समस्या भएको छ । तर तत्कालै नयाँ भवन बनाउने वा यसैलाई बढाउने अवस्था रहेन’ उनले भने । भरतपुर विमानस्थल ६२ विघामा फैलिएको छ, रन वे १२ सय मिटर छ । भरतपुरबाट दैनिक पाँच सय यात्रु जना काठमाडौं जान्छन् भने आउने पनि उत्तिकै छन् । विगत २ वर्षको अवधिमा हवाई यात्रुको संख्या चार गुणाले बढेको विमानस्थलको तथ्याङ्क छ । पहिले पहिले यात्रु नहुँदा विमान कम्पनीहरुले टिकटका लागि अफर फेयर छाड्ने गरेका थिए । तर, पछिल्ला केही बर्षमा अफर फेयर नछाडिएको बुद्ध एयरका भरतपुर प्रबन्धक भक्त बस्नेतले बताए ।

साभारः अनलाइन खबरबाट

Comments