जापानमा क्षेप्यास्त्रबाट बच्ने अभ्यास शुरु

टोक्यो : जापानी सेनाले राजधानी टोक्योमा क्षेप्यास्त्र आक्रमणबाट कसरी बच्ने भनेर सोमबारदेखि अभ्यास शुरु भएको छ। दोस्रो विश्वयुद्धपछि पहिलोपटक जापानले यस्तो अभ्यास गरेको हो। आक्रमणका बेला कसरी नागरिकलाई बाहिर निकाल्ने भनेर सैनिक अभ्यास गरिएको थियो। सयौं जापानी उक्त अभ्यासमा सहभागी थिए। कोरियासँगको परमाणु कार्यक्रमलाई लिएर विवाद भइरहेका बेला जापानले यस्तो अभ्यास गरेको हो।

अभ्यासका क्रममा तोक्योस्थित एम्युजमेन्ट पार्कमा लाउडस्पिकरबाट सैनिकले आह्वान गरेका थिए, ‘क्षेप्यास्त्र प्रहार भएको हामीले जानकारी पाएका छौं। कृपया शान्तिपूर्वक बाहिर निस्कनुहोस् वा भूमिगत ठाउँमा बस्नुहोस्।’ त्यसको केही मिनेटपछि फेरि लाउडस्पिकरबाट सन्देश आयो, ‘क्षेप्यास्त्र गइसक्यो। क्षेप्यास्त्र कान्तो क्षेत्र हुँदै प्रशान्त महासागरतर्फ गयो।’ जापानमा भूकम्पका लागि यस्तो अभ्यास गराइने भए पनि क्षेप्यास्त्र आक्रमण भएको भनेर अभ्यास गराइएको टोकियोमा पहिलोपटक हो।

साभारः अन्नपूर्ण पोष्टबाट

Comments