नर्थ अमेरिका तामाङ सम्मेलनमा जे देखियो

प्रथम नर्थ अमेरिका तामाङ सम्मेलन यही जनवरी १३ र १४ तारेख न्यूयोर्कमा सम्पन्न भयो । अत्यन्तै ठण्डा र प्रतिकूल माैसमको बाबजुत पनि नेपाल, जापान, र कुवेत लगायत संयुक्त राज्य अमेरिकाको विभिन्न राज्यहरू बोस्टन म्यासाचुसेट्स, कनेक्टीकट, पेन्सिलभेनिया, न्यूयोर्क, न्यूजर्सी, वासिङगटन डिसि, भर्जिनिया, बल्टीमोर, टेक्सास डालस, मिनेसोडा, शिकागो इलिनोइस, न्यूह्याम्साएर र क्यालिफोर्नियाबाट उक्त ऐतिहासिक सम्मेलनमा उत्साहजनक उपस्थिति रहेको थियो । सम्मेलनका संयोजक शान्ता वावु थोकरको सभापतित्व र नेपाल सरकारको तर्फबाट न्यूयोर्कस्थित महाबाणिज्य दूत मधुकुमार मरासिनीको प्रमुख अातित्थ्यमा संचालित उक्त कार्यक्रममा   अतिथिहरूमा नेपालबाट भाषाविद् अमृत योन्जन, नेपालको तर्फबाट जापानका लागि पूर्व राजदूत एवं जनजाति आन्दोलनका अभियानकर्ता डा. गणेश योन्जन, अमेरिकास्थित आदिवासी जनजाति महासंघ फिप्नाका वर्तमान अध्यक्ष लुइसाङ वाइवा, तामाङ डाटा बेसका फाउन्डर सदस्य मिङमार तामाङ, तामाङ घेदुङ कुवेतका बरिष्ट सल्लाहकार राम लामा र नेपाल तामाङ सोसाइटी जापानका बरिष्ट सल्लाहकार कुमार मोक्तान तामाङको उपस्थिति थियो ।

गेरु लामाको प्रार्थना र अतिथिहरुको आसन ग्रहणबाट सुरु भएको पहिलो दिनको कार्यक्रम विभिन्न व्यक्तिहरुको स्वागत मन्तव्य र भाषाविद् अमृत योन्जनको तामाङ भाषाको भविष्य सम्बन्धी प्रस्तुतीसँगै समापन भएको थियो । दोस्रो दिन, नेपालमा तामाङहरूको सामाजिक र राजनीतिक स्थिति बिषयमा डा. गणेश योन्जनको प्रस्तुती र आर्थिक बिकास सम्बन्धी मिङमार तामाङको प्रस्तुती पश्चात लन्च ब्रेक भयो । लन्चपश्चात सुरू भएकोमा बन्द सत्रमा प्रतिनिधीहरूलाई मात्र राखियो र आधी घण्टाको अध्ययन गर्ने समय दिएर विधान मस्याैदा बाँडियो । आधी घण्टा विधान पढेर आफ्नो धारणा बनाउन पर्याप्त समय त थिएन नै तैपनि सहमति वा असहमति त दिनु नै थियो । आधी घण्टापछि विधान मस्याैदामाथि छलफल कार्यक्रम प्रारम्भ भयो र कार्यक्रमका संचालक तथा विधान मस्याैदा समितिका संयोजक लुइसाङ वाइवाले विधानको मस्याैदा प्रस्तुत गरे । उही पुरानै तामाङ सोसाइटी अफ अमेरिका नाम राखेर तयार पारिएको प्रस्तावित विधानमा राखिएको केन्द्रीकृत प्रणालीको प्रावधान लगायत थुप्रै बुँदाहरूमा अहमत हुँदै तामाङ सोसाइटी अफ ग्रेटर वासिङटनका प्रतिनिधी तथा विधान मस्याैदा समितिका एकजना सदस्य उत्तर दोङले वैकल्पिक विधान प्रस्तुत गरे ।

उनको वैकल्पिक विधानमा संस्थाको नाम तामाङ सोसाइटी अफ नर्थ अमेरिका सहित संघीय प्रणालीको प्रस्ताव गरिएको थियो । त्यसपछि हरेक राज्यका दुइजना प्रतिनिधीलाई पालैपालो विधानबारे टिप्पणी गर्न भनियो । ग्रेटर वासिंगटन डीसी क्षेत्र, बोस्टन म्यासाचुसेट्स र क्यालिफोर्नियाका प्रतिनिधिहरुले वैकल्पिक विधानलाई समर्थन गरे भने न्यूयोर्क इतरका कतिपय राज्यका प्रतिनिधिहरु भने कसलाई समर्थन गर्ने भनेर अलमलिएको पाइयो । हुन पनि जो कोहीका लागी आधी घण्टामा विधान पढेर धारणा बनाउन सहज थिएन । उक्त प्रतिनिधीहरूले प्रजातान्त्रिक तवरले सबैलार्इ मान्य हुने विधान बनाउन सुझाव दिए । मस्याैदाका संयोजक लुइसाङ वाइवाले नयाँ नाममा सहमत हुन केन्द्रीकृत प्रणाली हुनुपर्ने शर्त राखे । नाममा सहमत भएपनि प्रणाली वा पद्धती लगायतका बुँदाहरूमा सहमत हुन बाँकी नै थियो । यतिकैमा हल छोड्नु परयो र सबैजना डम्फु साँझ गर्ने हलतिर लागे । हलमा पुगेर समय अभाव देखाउँदै विधान मस्यौदा सम्बन्धी विवाद समाधान गर्ने जिम्मेवारी नयाँ बन्ने कार्यसमितिको काँधमा सुम्पिंदै कार्यसमिति चयन प्रक्रियामा लाग्यो र शान्ता थोकरको नेतृत्वमा गठित तीन सदस्यीय निर्वाचन समितिले लक्यन लामाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गर्यो । नवगठित कार्यसमितिको घोषणासँगै सबैजना डम्फू साँझमा रमाउन थाले ।


नयाँ संस्थाको स्थापना र कार्यसमिति चयनसँगै उब्जिएका प्रश्नहरू


नर्थ अमेरिका तामाङ सम्मेलनको

समापन, तामाङ सोसाइटी अफ नर्थ अमेरिकाको स्थापना र नवगठित कार्यसमितिको घोषणासँगै केही प्रश्नहरू उब्जिएको छ । विधान मस्याैदाको छलफलकै क्रममा न्यूयोर्ककै प्रतिनिधी तामाङ सोसाइटी अफ अमेरिकाका संस्थापक अध्यक्ष सुवाश लामाले अब बन्ने नयाँ संस्था र नाम परिवर्तनले सन् २००२ मा न्यूयोर्कमा स्थापित तामाङ सोसाइटी अफ अमेरिकाको इतिहासलार्इ कायम राख्छ वा राख्दैन भन्ने जिज्ञासा राख्नु र नाम परिवर्तन सम्बन्धमा स्थानिय न्यूयोर्क प्रतिनिधी नामगेल लामाले फेडरल अाइडी र ट्याक्स अाइडी उही भएसम्म नयाँ नामले केही फरक नपार्ने प्रष्टयाउँदै गर्दा संस्थाका पूर्व अध्यक्ष तथा विधान मस्याैदा समितिका सदस्य राम तामाङले अाफ्नो फेसबुक वालमा केही व्यक्तिहरूले पदको लोभ गर्दा अाफूहरूको संस्था गुमेको जस्ता कमेन्ट गर्नुले तामाङ सोसाइटी न्यूयोर्ककै प्रतिनिधीहरूमा नयाँ संस्था र न्यूयोर्क च्याप्टर रहेको वा नरहेकोबारे कन्फ्युज देखिन्छ । यस सम्बन्धमा उहाँहरू अाफैंमा मत बाझिएको देखिन्छ । तामाङ सोसाइटी अफ अमेरिकाको इतिहास र न्यूयोर्कमा तामाङ साँस्कृतिक केन्द्र बनाउन संकलित रकम यदि यही संस्थाको खातामा राखिएको भए त्यो के हुने भन्ने चिन्ता लागेको हुन सक्छ ।

हुन पनि नयाँ संस्था तर उही फेडरल र ट्याक्स अाइडी हुँदा त्यो समस्या अाउन पनि सक्छ । तर विगतदेखि नै तामाङ सोसाइटी अफ अमेरिका संयुक्त राज्य अमेरिका भरिका तामाङहरूलार्इ प्रतिनिधित्व गर्ने संस्था हो भनिरहँदा अहिले नाम परिवर्तन गर्दैमा के फरक पर्ला र सबै कुरा उही हुने हो भने ? विधान मस्याैदा समितिका केही सदस्यहरूले यही संस्थालार्इ नर्थ अमेरिकालार्इ समेट्ने गरी केन्द्रीकृत ढाँचामा लैजाने परिकल्पना गरेको जस्तो देखिन्छ जसको अभ्यास स्वरूप न्यूयोर्क, कनेक्टीकट र टेक्सास लगायत केही राज्यहरूमा विगत केही महिना पहिलेदेखि नै स्थानीय लोकल च्याप्टरहरू गठन गरिसकेको अवस्था छ । मेक्सिको र क्यानाडाबाट कसैको प्रतिनिधित्व नभएको अवस्थामा न्यूयोर्कका पत्रकार शैलेस श्रेष्टको फेसबुक वालमा कमेन्ट गरे जस्तै यो सम्मेलन नर्थ अमेरिका सम्मेलन भने पनि संस्थाको नाम तामाङ सोसाइटी अफ नर्थ अमेरिका भनिरहनु पर्ने देखिंदैन ।

यो संस्थालार्इ केन्द्रीकृत ढाँचामा नभर्इ संघीय ढाँचामा लैजाने हो भने यो संस्थाको नाम एशोसिएसन अफ तामाङ सोसाइटिज इन अमेरिका भनिए उपयुक्त देखिने र यो एएनए मोडलको संस्था हुनेछ । नामसहित विधान मस्याैदाका कतिपय प्रावधानहरूमा देखिएका मतभेदहरूलार्इ समेट्दै एउटा मजवूत संगठन निर्माण भए सबल समुदाय निर्माणको लागि हाम्रो संयुक्त अभियान भन्ने नारा सही सावित हुनेछ अन्यथा यो संगठन पनि नयाँ बोतलमा पुरानै रक्सी भनेझैं नहोला भन्न सकिन्न । त्यसैले यसतर्फ ध्यान दिन नयाँ कार्यसमितिलार्इ मेरो सुझाव छ ।

साभारः अनलाइन खबरबाट

Comments