बिमल घर्तीमगर चर्चित भारतीय क्लब मोहन बगानमा
काठमाडौँः आई लिग खेलिरहेको भारतको चर्चित क्लब मोहन बगानले नेपाली स्ट्राइकर बिमल घर्ती मगरलाई अनुबन्ध गरेको छ । जारी आई लिगको चौथो स्थानमा रहेको मोहन बगानले शनिबार राति एक विज्ञप्ती निकाल्दै बिमललाई क्लबमा अनुबन्ध गरेको पुष्टि गरेको हो । ‘नेपालका चर्चित फुटबलर बिमल घर्ती मगरलाई क्लबमा अनुबन्ध गरेको घोषणा गर्न पाउँदा हामी खुशी छौँ’, क्लबले विज्ञप्तिमा भनेको छ, ‘नेपालका यी युवा स्ट्राइकरले युरोपका केही ठुला क्लबहरुमा ट्रायल पनि दिएका छन् । उनलाई डच क्लब एफसी ट्वान्टे दुई साताको ट्रायलमा सहभागी गराएको थियो । उनले युरोपमा पनि आफ्नो क्षमताले प्रभाव छाड्न सफल भएका थिए ।’ बिमलले बेल्जियमस्थित चर्चित फुटबल क्लब एन्डरलेचको १६ वर्षमुनिको टीममा रहेका अन्य युरोपियन क्लब विरुद्ध पनि खेलेका थिए । सन् २०१४ मा पाएको यो अवसरसँगै बिमल चर्चित भएका थिए । उनले बेल्जियममा रहँदा एन्डरलेचबाट एगोन फ्युचर कप, टेन ब्रिन्क बोयु टुर्नामेन्ट र नुएनेन टुर्नामेन्टमा पनि खेलेर गतिलो प्रभाव छाड्न सफल भएका थिए ।
गतिलो प्रभाव छाडेपछि बिमल ८ जुन सन् २०१४ मा एउटा छोटो समयका लागि एन्डरलेचसँग अनुबन्ध भएका थिए । त्यसपछि उनले एन्डरलेचको १९ वर्षमुनिको टिममा रहेर कोपा डेल अग्था खेलेका थिए । त्यसक्रममा उनले एन्डरेचलाई प्रतियोगिताको फाइनलमा पु¥याउँदै २ गोल पनि गरे । तर एन्डरलेच फाइनलमा एटलेटिको पारानान्से ३–० ले पराजित भयो । उनी नेपालको राष्ट्रिय टिमबाट खेल्ने सबैभन्दा कान्छा खेलाडी पनि हुन् । उनले १४ वर्षमै नेपाली राष्ट्रिय टोलीबाट बंगलादेशबाट खेलेका थिए । बिमल मोहन बगानसँग औपचारिकरुपमा आवद्ध हुन आइतवार कोलकाता जाँदैछन् । सुरुमा तालिममा सहभागी हुँदै उनले २९ जनवारीमा क्लबसँग औपचारिक सम्झौता गर्नेछन् । यो सम्झौतापछि उनले पाउने तलबबारे क्लबले घोषणा गर्नेछ ।
को हुन् बिमल
विमल घर्ती मगरको जन्म नवलपरासीमा २६ जनवरी १९९८० मा भएको हो । उनी नेपालको यू–२०, नेपाल यू–२३, नेपाल र थ्री स्टार फुटबल क्लबका लागि अग्रपंक्तिबाट खेल्ने गर्दछन् । विमल एन्फा एकेडेमीका उत्पादन हुन् जुन् अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल राष्ट्रिय फुटबल टिमको नियन्त्रणमा छ । विमल २०१३ साफ च्याम्पियनसिपमा पाकिस्तान विरूद्ध नेपाल राष्ट्रिय फुटबल टिमका लागि गोल गरेसँगै एकाएक चर्चामा आएका थिए । विमल अन्तराष्ट्रिय फुटबलमा गोल गर्ने विश्वकै छैटौँ कान्छा फुटबलर हुन् जसले उनलाई नेपालको लागि डेब्यु गर्ने (१४ बर्षको उमेरमा) र गोल गर्ने (१५ बर्षको उमेरमा) सबभन्दा युवा खेलाडी बनायो ।
यो कीर्तिमान यसअघि भरत खवासले १६ वर्षको उमेरमा गोल गर्दै बनाएका थिए । साथै विमल साफ च्याम्पियनसिपमा सबैभन्दा छिटो गोल गर्ने खेलाडी समेत हुन् । उनले २०१५ साफ च्याम्पियनसिपमा भारतविरूद्धको खेलमा २ मिनेटमै गोल गर्न सफल भएका थिए। नवलपरासी जिल्लामा जन्मिएका विमल सानैदेखि फुटबल खेलमा रूचि राख्ने गर्दथे । फुटबल बाहेक उनी क्रिकेट पनि खेल्ने गर्थे। सानैमा बुबा गुमाएका उनले आमाकै रेखदेखमा बाल्यकाल बिताए। उनका बाबु नेपाल प्रहरी थिए । राष्ट्रकको सेवा गर्दागर्दै उनको निधन भएको थियो ।
साभारः अन्नपूर्ण पोष्टबाट
Comments
Post a Comment