छपकैया पुग्यो क्रान्तिकारी टोली, अध्यक्ष तामाङ भन्छन्– भारतले नेपाली अस्मिता लुट्यो
६ माघ, वीरगञ्ज । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको केन्द्रीय टोली पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर १ स्थित छपकैया पुगेर सीमा अतिक्रमण विरुद्ध खबरदारी गरेको छ। छपकैयामा नेपालतर्फको ५० विघाभन्दा बढी भूमी भारतले अतिक्रमण गरी जंगे पिलर सारिएको भनिएको स्थानमा शनिबार अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ नेतृत्वको टोली पुगेको हो। अतिक्रमित क्षेत्रको निरीक्षण पश्चात् क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङले भने, ‘छपकैयामा नाङ्गो रुपमा नेपाली अस्मिता र भूमी लुटिएको छ । यसलाई अविलम्ब रोक्न सरकार समक्ष जोडदार माग गर्दछौं।’ स्थलगत निरीक्षण र थप अध्ययन पश्चात् काठमाडौं फर्किएर नेपाल सरकारसहितका सबै सरोकारवालाहरुलाई खबरदारी गरिने क्रान्तिकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए।
आइतबार अनेरास्ववियुको टोली जाने
शनिबार क्रान्तिकारीको टोली पुगेकै स्थानमा आइतबार अनेरास्ववियुको टोली जाँदैछ । आइतबार बिहान १० बजे अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र अनेरास्ववियु अध्यक्ष नविना लामासहितको संयुक्त टोलीले उक्त स्थानमा थप अध्ययन, अवलोकन र अन्तर्क्रियापछि पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको क्रान्तिकारी उपाध्यक्ष बस्नेतले जानकारी दिए । दुई देशबीच भएको सहमतिअनुसार अहिले बारा र पर्सामा पर्ने सीमा क्षेत्रमा हराएका वा बिग्रिएका पिल्लरहरुको ठाउँमा नयाँ पिल्लर भारतले राख्दैछ । त्यस क्रममा भारतले ५० विगाहा जति जमिन मिचेको स्थानीयबासीले बताएका छन् । नयाँ पिल्लर गाड्दा वीरगञ्ज महानगरपालिका १ छपकैया क्षेत्रमा मात्रै १२ जनाभन्दा बढीको नम्बरीसहित झण्डै ५० विगाहा नेपाली जमिन भारततर्फ परेको स्थानीयको दावी छ । सीमा विवाद देखिएपछि नापी विभागका निर्देशक सहितको टोलीले छानविन थालेको छ । छानविनका लागि नापी विभागका निर्देशकद्वय अनिल मरासीनी र दामोदर ढकाल नेतृत्वको टोली सीमा क्षेत्रमा खटिएका छन् ।
साभारः अनलाइन खबरबाट
Comments
Post a Comment