तामाङ समुदायमा ल्होछार परम्पराको महत्व
तामाङ जीवनमा ल्हो परम्पराको ठूलो महत्व छ । यसले तामाङ जीवनलाई भिन्न र जीवन्त बनाउन महत्वपूर्ण भूमिका खेल्दछ । तर हामीले यसको महत्वको बारेमा राम्रोसँग बुझ्न नसक्दा ल्होछार भनेको सालमा एकपटक नाच्ने, गाउने पर्वको रुपमा मात्रै लिइरहेका छौ । ल्होछार साँस्कृतिक उत्सवको पर्व मात्रै होइन । यो परम्परा तामाङ लगायत मंगोल समाजले विकास गरेको साँस्कृतिक, सामाजिक सभ्यता हो । यो चन्द्रमाको गति र प्रभावको आधारमा हेर्ने वैज्ञानिक विश्व दृष्टिकोण हो । यो अन्धविश्वासको आधारमा भविष्यवाणी गर्ने नभई प्राकृतिक तत्वहरुको संयोग, वियोग, अन्तरक्रिया र अन्तरसम्बन्धका आधारमा सूचना दिने नियम संगत ज्ञान हो । हजारौं बर्ष पहिले नै यो परम्पराको विकास भयो र तामाङ समाज त्यही परम्पराबाट परिचालित हुँदै आएको छ । हाम्रो जीवन र संस्कृतिको प्रत्येक घडी, पला र प्रत्येक दिन त्यही परम्परा र विश्वासबाट सञ्चालित हुँदै आएको छ ।
ल्हो परम्परा अनुसार प्रत्येक बर्ष एउटा एउटा जनावरले शासन गर्दछ । अबको ख्रेला छेपागीबाट खि÷नागी ल्होको शासन सुरु हुँदैछ । पहिलो महिना ख्रे–लालाई बाघ महिना मानिन्छ । प्रत्येक बर्षमा एउटा जनावरले शासन गरे झैं प्रत्येक महिनामा पनि क्रमशः जनावरहरुले पालैपालो शासन गर्दछ । त्यसैगरी प्रत्येक दिनको २४ घण्टामा पनि २/२ घण्टाको दरले पालैपालो शासन गर्छ भन्ने मान्यता छ । भारतीय ज्योतिष परम्परामा सुर्य उदय भएपछि दिनको सुरु हुन्छ भने चन्द्र परम्परामा रातको ११ बजेदेखि अर्को दिनको सुरुवात हुने विश्वास छ । जसअनुसार रातको ११ बजेदेखि १ बजेसम्म मुसा, १ बजेदेखि ३ बजेसम्म गाई, ३ बजेदेखि ५ बजेसम्म बाघ, ५ बजेदेखि ७ बजेसम्म खरायो, ७ बजेदेखि ९ बजेसम्म गरुड, ९ बजेदेखि ११ बजेसम्म सर्प, ११ बजेदेखि १ बजेसम्म घोडा, १ बजेदेखि ३ बजेसम्म भेडा, ३ बजेदेखि ५ बजेसम्म बाँदर, ५ बजेदेखि ७ बजेसम्म चरा, ७ बजेदेखि ९ बजेसम्म कुकुर र ९ बजेदेखि ११ बजेसम्म सुंगुरले क्रमशः शासन गर्दछ । जुन जुन जनावरको जुन जुन बर्ष, महिना, बार र समय शासनअवधि हो, त्यो समयमा त्यही जनावर सक्रिय रहने तामाङ समाजको जनविश्वास छ ।तामाङ जीवनको महत्वपूर्ण कार्यहरु छेवर, पास्नी, बिबाह, मृत्यु मात्रै नभएर परदेश जाने, घर बनाउने, पुजाआजा गर्ने सबैखालको शुभ, अशुभ साईतमा ल्हो, खाम हेर्ने गरिन्छ । ल्हो र खामको आधारमा उसको चरित्र र भविष्यको आँकलन गर्ने हुँदा बिबाह, नयाँ कामको थालनी आदिमा यो परम्परालाई आधार बनाईन्छ । केटा र केटीको ल्हो, खाम नमिलेमा बुढापाकाबाट बिबाहको लागि स्वीकृति दिइदैन । जस्तोः मुसा र घोडा, गोरु र भेडा, बाघ र बाँदर, खरायो र चरा, गरुड र कुकुर, सर्प र बँदेल जोडा नमिल्ने ल्हो चिन्ह भएकोले बिबाह गर्नु हुँदैन भनिन्छ । त्यसैले तामाङ जीवनलाई प्रत्येक बर्ष, महिना, घण्टामा मात्रै नभएर जन्मदेखि मृत्युसम्म नै ल्हो परम्पराले कुनै न कुनै रुपमा प्रभाव पारिरहेको हुन्छ ।
जसले यो विज्ञानलाई अन्धविश्वासको रुपमा हेरेर बेवास्ता गर्छ, उसको जीवन असफल भएको हामीले देखिरहेका नै छौ । यसलाई उलंघन गर्नेको जीवनमा दुःखकष्ट, बिघ्न बाधा र भय खेप्नुपर्छ भनिन्छ । यो परम्परामा विश्वास गर्ने समुदायको जीवन ल्होचक्र भित्र सुरक्षित रहेको हुन्छ । त्यसकारण यो परम्पराको धार्मिक, सामाजिक, आर्थिक, साँस्कृतिक, स्वास्थ्य जीवनको क्षेत्रमा मात्र नभएर राजनीतिक महत्व समेत रहेको छ । ल्हो फिर्ने दिनको अवसरमै मानिसको ग्रहदशा फ्याक्ने, कूलको पूजा गर्ने, घरमा लुङ्दर/दज्र्यु फहराउने र विश्व शान्तिको लागि लामाद्वारा मन्त्रोच्चारण गरिन्छ । त्यसैले यो पर्वले धार्मिक महत्व राख्दछ । यो पर्वमा आफू बस्ने घर रंग्याउने, बाटोघाटो सफा गर्ने, इष्टमित्र आफन्त, चेलीमाईती, दाजुभाई भेटघाट गर्ने, परदेश गएकाहरु घर फर्किने, यदि घर फर्किनु नसकेमा विदेशकै भूमिमा भएपनि तामाङ संस्कृतिमा रमाईलो गर्ने, घरपरिवार सम्झने, मान्यजनबाट टीका लगाउने, आशिर्वाद लिने÷दिने, विशेषगरी तामाङ परम्परागत खानपीन खाने, नयाँ तामाङ भेषभूषा लगाउने र सामूहिक भोजन जस्ता कार्यक्रम गरिने हुँदा यसले सामाजिक महत्व राख्दछ । तामाङ समुदाय कृषि पेशामा आश्रित भएको हुँदा यसले कुन समयमा कुन खेतिपाती लगाउने र कुनबेला कुन बाली सप्रिने, बिग्रने लगायत बर्षात, खडेरी आदि कुराको जानकारी दिन्छ । कुन ल्हो, खामको मानिसले कुन पेशा, ब्यासाय गरेमा राम्रो हुन्छ भन्ने कुराको जानकारी दिन्छ । यसको साथै नयाँ ल्हो फिरेसँगै तामाङहरु पुरानो तान काट्ने, आर्थिक बर्षको अन्त भए जस्तै गरी पुरानो ऋण तिर्छन् भने नयाँ कारोबारको समेत सुरुवात गर्ने भएकोले यो पर्वले आर्थिक महत्व राख्दछ ।
त्यस्तै ल्होको पाँच प्रकृतिका खामहरु एक अर्कोसँग अन्तरसम्बन्धित छ । जस्तोः आगोले मुटुसँग, पानीले मृर्गौलासँग, माटोले आन्द्रासँग, फलामले फोक्सोसँग र काठले कलेजोसँग सम्बन्ध राख्दछ । परम्परागत औषधि विधि अपनाउनेहरुले खाम सम्बन्धलाई ध्यानमा राखेर उपचार गर्छन् । यसरी पञ्च तत्वहरु पाँच ज्ञानेन्द्रीयसँग सम्बन्धित हुनाले यो परम्परा स्वास्थ्य जीवनको दृष्टिकोणले समेत अत्यन्तै महत्व राख्दछ । तामाङ बच्चामा धातु तत्वको कमी देखिएमा फलाम, सुनको जन्तर, चुरा, कल्ली लगाउने अर्थात जुन तत्वको कमी भयो, त्यही नाम दिने पनि गरिन्छ । यसैगरी यो पर्वले हिन्दू समाजको भन्दा भिन्न पहिचान र अस्तित्व बोकेको समस्त मंगोल सभ्यताको नै उजागर गर्दछ । यसले तामाङ समुदायलाई उत्तरी सभ्यतासँग साँस्कृतिक निकटता/सामिप्यता रहेको देखाउँछ भने ल्होछारको अवसरमा तामाङ झाँकी प्रदर्शन, तामाङ सेलो, म्हेन्दोमाया जस्ता गीत, नृत्य प्रस्तुत गरेर बर्षदिनभरिको दुःख बिर्सने हुँदा यसले विशेष साँस्कृतिक महत्व राख्दछ । त्यस्तै पर्वको अवसरमा तामाङ घेदुङ जस्तो साझा संस्थाको आयोजनामा साँस्कृतिक सभा, महोत्सव, भेला, अन्तरक्रिया जस्ता कार्यक्रमहरु सञ्चालन गरी ताम्सालिङ पहिचान, प्रतिनिधित्व र आफ्नो गुमेको हक, अधिकारको सवालमा आवाज उठाउँदै तामाङ एकतामा टेवा पुग्ने हुँदा यो परम्पराले तामाङ समुदायमा राजनीतिक महत्व समेत राख्दछ ।
अन्तमा, यस्तो महत्व बोकेको पर्वलाई घरघरमा धुमधामका साथ मनाउनु पर्नेमा अझै हामी प्रचारात्मक आन्दोलनमा मात्रै सीमित भइरहेका छौ । २०४६ सालको परिवर्तनपछि जोडतोडका साथ प्रचार गरियो । यसरी निरन्तर प्रचार गरेको नै आज २६, २७ बर्ष भइसक्यो । यो समय कम होइन । तर तामाङको घरभित्र ल्होछार अझै पस्न सकेको छैन । घर नजिकको चौक, गुम्बासम्म त घेदुङले पु¥यायो तर घरभित्र पसाउने काम भनेको समुदायको आफ्नै कर्तब्य थियो । तर त्यो कर्तब्य पुरा भएन । मार्कस गर्भेईले भनेका थिए– ‘आफ्नो इतिहास, उत्पति र संस्कृतिको ज्ञान नभएको मान्छे जरा बिनाको रुख जस्तै हो’ । साँच्चै आज ल्होछार परम्पराको बारेमा यसको महत्व बुझ्न नसक्दा गर्भेइले भने जस्तै हामी जरा बिनाको रुख जस्तै भइसकेका छौ । जो कुनैपनि बेला ढल्न सक्छ । तसर्थ, यस्तो महत्व बोकेको पर्वलाई घरघरमा मनाएर साँचो अर्थमा तामाङहरु ल्हो परम्पराको आधारमा चल्ने समुदाय हो भन्ने प्रमाणित गरौ । एकदिन चौकमा नाचेर मात्रै यो पर्वको परिभाषा पुग्दैन । सबैलाई नजिकिदै गरेको सोनाम ल्होछार– २८५४ को ज्यावाडान्बा ।
साभारः तामाङ अनलाइनबाट
Comments
Post a Comment