भारतीय र पाक सेनाबीच कश्मिरमा भिडन्त, ४० हजारलाई सिमानाबाट हटाइयो

नयाँ दिल्ली: भारतीय र पाकिस्तानी सेनाबीच जम्मु कश्मिरस्थित सिमानामा भिडन्त चर्किएपछि ४० हजार गाउँलेलाई हटाइएको छ । आइतवार रातिदेखि सोमवार बिहानसम्म दुवै पक्षबाट लाइन अफ कन्ट्रोलमा गोलाबारी भएपछि त्यहाँबाट ४० हजार गाउँलेलाई हटाइएको हो । भारतीय सीमा सुरक्षा बललाई उधृत गर्दै प्रकाशित भएका समाचार अनुसार पछिल्लो पटक आइतवार रातिबाट सोमबार बिहानसम्म भएको गोलाबारीमा मानवीय हताहत भने भएको छैन। तर त्यसअघि बिहीबारबाट शनिबारसम्म भएको गोलाबारीमा भने १६ जनाले ज्यान गुमाएका हुन् । भिडन्त चर्किँदै गएपछि सिमानामा जोडिएका गाउँबाट ४० हजार गाउँलेलाई हटाइएको छ। उनीहरुलाई भारतीय सेनाले सेल्ट होम र अर्को गाउँमा सारेको हो । बिहीबारबाट शनिबारसम्म भएको भिडन्तमा हालसम्म ५ भारतीय सेना, चार पाक सेना र ७ भारतीय सर्वसाधरणले ज्यान गुमाएका छन् ।

समाचार एजेन्सीका अुनसार जम्मू र राजौरी नजिकै आइतावर राति पाकिस्तानी र भारतीय सेनाबीच गोलाबारी भएको हो । आइतवार भएको गोलाबारीमा एकजनाको ज्यान गएको थियो । यो घटनामा दुईजना घाइते भएका छन् । आइतवार कानाचक क्षेत्रमा पनि दुई देशका सेनाबीच भिडन्त भएको छ। सिमानामा जारी तनाव र गोलाबारीका कारण जम्मु जिल्लामा कयौँ विद्यालय पनि बन्द भएका छन् । बीएसएफका एक अधिकारीले भनेका छन्, 'परगल, माथ, आरएस पुरा, अर्निया र रामगढ इलाकामा भिडन्त भएको हो । यो सोमबार बिहान ६ बजेसम्म जारी रह्यो ।' यसका अलावा भवानी, कराली, साद, नम्बु र शेर माकेरीमा पनि धेरै गोली चलेको थियो । बिहीबारबाट सुरु भएको भिडन्तका क्रममा जम्मा भारत र पाकिस्तानतर्फ १६ जना मारिइसकेका छन् ।

यिनमा पाँचजना भारतीय सेना र ४ जना पाकिस्तानी सेनाका जवान छन् । दुई देशबीच भिडन्त चलिहरेपछि करिब ४० हजार मानिसलाई सिमानाबाट हटाएर सुरक्षित स्थानमा सारिएको भारतीय सेनाले जानकारी दिएको छ । समाचार अनुसार बीएसएफ र भारतीय सेनासँगको भिडन्नतमा शुक्रबार पाकिस्तानका चार सैनिक (रेन्जर्स) मारिएका छन् । यसका अलावा सर्वसाधरण पनि मारिएका छन् तर उनीहरुको संख्या खुलेको छैन ।

साभारः अन्नपूर्ण पोष्टबाट

Comments