कुखुरा भन्दै काठ तस्करी
सुर्खेत : कुखुरा ओसार्ने गाडीबाट काठ तस्करी हुने गरेको फेला परेको छ । कुखुरा र दाना ओसार्न प्रयोग हुने गाडीमा काठ तस्करी हुन थालेपछि जिल्ला वन कार्यालयले निगरानी बढाएको छ । सोही क्रममा वन कार्यालयले दुई जिप सालको चिरान काठसहित पाँच जनालाई पक्राउ गरेको छ । रातभर जाग्राम बसेका वन कर्मचारीको टोलीले शनिबार बिहान ३ बजे काठसहित पाँच जनालाई पक्राउ गरेको हो । सबैको ध्यान निर्वाचनमा केन्द्रित भइरहेका बेला तस्करले गाउँबाट अवैध ढंगले वीरेन्द्रनगरमा काठ ओसार्न थालेका हुन् । लामो कसरतपछि ठूलो मात्रामा चिरान काठसहित पाँच जनालाई समात्न सकेको जिल्ला वन कार्यालयले जनाएको छ ।‘तल चिरान काठ राखेर माथि कुखुरा र दानाले छोप्ने रहेछन्', जिल्ला वन अधिकृत हेमराज विष्टले भने, ‘बाहिरबाट हेर्दा कुखुरा देखिने, कसैले शंका गर्ने ठाउँ पनि भएन ।
तर, तस्करले कुखुरा देखाएर काठ पो ओसार्ने रहेछन्, हामीले गस्ती बढाएपछि तस्करले नयाँ उपाय अपनाएछन् ।' वन कार्यालयका कर्मचारी र प्रहरीको संयुक्त गस्ती टोलीले वीरेन्द्रनगर भित्रिने नाका बांगेसिमलबाट अभियुक्तलाई पक्राउ गरेको हो । वीरेन्द्रनगर-२ का गणेश सुनार, डोलबहादुर सुनार, वीरेन्द्रनगर-१८ का अर्जुन बस्याल, बराहताल गाउँपालिका-८ का चन्दबहादुर थापा र दैलेखको गुराँस गाउँपालिका-४ का लालबहादुर विक पक्राउ परेको वन कार्यालयले जानकारी दिएको छ । गणेश र डोलबहादुर जिप चालक हुन् । अर्जुन र लालबहादुर सहचालक भएको वन कार्यालयले जनाएको छ । वन कार्यालयका अनुसार लु.१च ८३६२ र लु.२च ३४३ नम्बरका जिप काठ तस्करीमा प्रयोग गरेको भेटिएपछि नियन्त्रणमा लिइएको छ । गाडी र चालक पक्राउ परे पनि गाडीधनी र काठ तस्करलाई भने वन कार्यालयले पक्रन सकेको छैन । दुवै जिप वीरेन्द्रनगर-६ स्थित पाण्डे एग्रोभेटको भएको खुलेको छ । बराहताल गाउँपालिकास्थित ओदाल तालबाट काठ ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । काठ तस्करीबारे थप अनुसन्धान थालेको अधिकृत विष्टले बताए ।
Comments
Post a Comment