ताप्लेजुङमा हेलिकोप्टरमार्फत मतपेटिका सदरमुकाम ल्याइयो
११ मंसिर, ताप्लेजुङ । ताप्लेजुङको उत्तरी क्षेत्रमा रहेका दुई दुर्गम मतदान केन्द्रको मतपेटिका सोमबार नेपाली सेनाको हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको छ ।विहान करिब साढे ७ बजे गएको हेलिकोप्टरले फक्ताङ्लुङ गाउँपालिका–७ मा रहेको ग्याब्ला प्रावि र याङ्मा आधारभुत विद्यालय मतदान केन्द्रको मतपेटिका सदरमुकाम ल्याएको हो । ग्याब्लामा ४९ मतदाता रहेका थिए भने २५ मत खसेको थियो । उता, याङ्मामा ५७ मतदाता छन् भने १६ मत खसेको थियो ।
ग्याब्ला, याङ्मा, ओलाङ्चुङगोला र घुन्साको मतपेटिका एकै चरणमा हेलिकोप्टरबाट ल्याउने प्रयास गरिए पनि ओलाङ्चुङगोला र घुन्सामा मौसममा आएको खराबीका कारण हेलिकोप्टर बस्न नसक्दा दुई स्थानको मात्रै मतपेटिका सदरमुकाम ल्याइएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले बताए ।नेपाली सेनाको हेलिकोप्टर ताप्लेजुङस्थित नेपाली सेनाकै गुल्ममा राखिएकाले मौसममा सुधार हुन साथ ती दुई स्थानको पनि मतपेटिका सदरमुकाम ल्याइने प्रमुख जिल्ला अधिकारी मोहन जिसीको भनाइ छ ।
आइतबार भएको मतदानमा १ सय ३१ मतदाता रहेको घुन्सामा ५९ र २ सय २२ मतदाता रहेको ओलाङ्चुङगोलामा ९४ मत खसेको थियो । चारै स्थानमा जम्मा ४ सय ५९ मतदाता रहेकोमा १ सय ९४ मात्रै मत खसेको थियो । हिँडेर आउन कम्तिमा ४ दिन लाग्ने भएकाले खसेको १ सय ९४ मत सदरमुकाम ल्याउन लाखौं खर्चिएर सरकारले हेलिकोप्टर प्रयोग गर्नु परेको हो । यता, १ सय १४ केन्द्रमध्ये चार केन्द्रको बाहेक १ सय १० केन्द्रको मतपेटिका भने स्थल मार्गबाट सदरमुकाम आइरहेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले बताए । उनका अनुसार हेलिकोप्टरबाट ल्याइएका दुई केन्द्रसहित ३८ केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय आइपुगेको छ ।
रविन भट्टराई ,साभारः अनलाइन खबरबाट
Comments
Post a Comment