कमलादीमा गोली चलाउने पञ्जाब प्रहरी भएको खुलासा
काठमाडौं :
बुधबार साँझ कमलादीको एक होटलमा गोली चलाउने भारतको पञ्जाव राज्यका प्रहरी भएको खुलासा भएको छ । जसवीर सिंह नाम गरेका युवालाई बुधबार प्रहरीले पक्राउ गरेको थियो । उनको साथमा पञ्जाव प्रहरीको परिचय पत्र भएको प्रहरीले खुलासा गरेको हो ।प्रहरीले उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताएको छ । गोली प्रहारपछि पक्राउ परेका दुई भारतीय नागरिकलाई प्रहरीको विशेष ब्यूरोमा राखेर अनुसन्धान अगाडि बढाइएको छ ।कमलादीस्थित हेरिटेज प्लाजाको भुईंतलाको ‘खाल्डो’ डान्स बारमा सधैंझैँ बुधबार साँझ पनि डिजे मोहन सुनार आफ्नो सुरमा गीत बजाइरहेका थिए । कोही नाचिरहेका थिए भने कोही छरिएर रहेका टेबलमा युवतीसँग रमाउँदै थिए । त्यतिखेरै एउटा टेबलमा भने दुई जना ‘गेस्ट’ र डान्सबारका कर्मचारीबीच केही समयदेखि विवाद भइरहेको देखिन्थ्यो ।

भारतीय मूलका अन्दाजी ३५ र ४० वर्षका ती दुई ‘गेस्ट’ लाई युवतीले घेरेर राखेका थिए । त्यहाँ एक्कासि घम्साघम्सीको स्थिति देखियो । दुवै जना उठेर हिँड्न खोजे तर डान्स बारका कर्मचारीले उनीहरूलाई घेरेर राखे । एकैछिनपछि दुईमध्येका एक ‘गेस्ट’ले पेस्तोल निकालेर फायर गरे । सबैको भागाभाग भयो। पेस्तोल पड्किएको आवाज आउनेबित्तिकै म त किचनतिर लुक्न गएँ । पछि निस्कँदा उनीहरू दुवैलाई प्रहरीले समातिसकेको रहेछ’, मोहनले भने । ४ बजेर ४५ मिनेटमा भएको गोलीकाण्डमा कमलपोखरी प्रहरी वृत्तबाट खटिएको टोलीले भारत लुधियाना घर भएका जसभिर सिंह र अमरेन्द्र सिंहलाई पक्राउ गरेको छ । उनीहरूको साथबाट एक थान ‘कम्पनी मेड’ पेस्तोल, त्यसमा लाग्ने ५१ राउन्ड गोली र चारवटा म्याग्जिन बरामद भएको छ । बरामद हतियार परिमाण, उनीहरूले बोकेर हिँडेको अवस्था र गोली प्रहारको प्रकृति देखेर प्रहरी नै आश्चर्यमा परेको छ । ‘यत्रो गोली भेटिनु र हिम्मतसाथ गोली प्रहार गरेर बाहिरिन खोज्नु आश्र्चयजनक देखिन्छ’, महानगरीय प्रहरी कार्यालयका एक उच्च अधिकृतले भने । गोली प्रहार गरेर उनीहरू हिँडेरै बाहिरिएका थिए । उनीहरूलाई पिछा गरेका बारका एक कर्मचारीको सहयोगमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार घटना हुनुभन्दा करिब आधा घन्टाअघि मात्र जसभिर र अमरेन्द्र उक्त बारमा प्रवेश गरेका थिए । उनीहरूले त्यहाँ प्रवेश गर्नुअघि नै मदिरा सेवन गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । ‘गोली चल्नुअघि उनीहरू बसेको टेबलमा दुवै भारतीयले जुस खाइरहेको देखिन्छ । यसबीचमा उनीहरूको वरिपरि रहेका युवतीले मदिरा सेवन गरेको तर अर्डर गरेका खानेकुरासँगै २२ हजारको बिल आएपछि विवाद सुरु भएको देखिन्छ’, अनुसन्धानमा संलग्न एक प्रहरीले भने । उनका अनुसार आफूहरुले नखाएको खानेकुराको बिल नतिर्ने भन्दै ती दुई भारतीय बिच्किएका थिए । उनीहरूले पैसा नतिरी त्यहाँबाट निस्कन खोज्दा घम्साघम्सी भएको र बार कर्मचारीले उम्कन नदिएपछि गोली चलाएको प्रहरीले जनाएको छ ।

अन्दाजी ३५ वर्षका जसभिरले चलाएको गोली डान्सबारको प्रवेशद्वारनजिकै रहेको माथिल्लो कुनामा लागेको थियो । आफूहरूलाई २२ हजारको बिल देखाएपछि स्थिति असामान्य भएको पक्राउ परेका ती भारतीयले बताएका छन् । तर डान्सबारका कर्मचारीले भने २२ सय रुपैयाँको मात्र बिल भएको बताएका छन् । प्रारम्भिक अनुसन्धानमा युवती पाउनसक्ने प्रलोभनमा दलालमार्फत उनीहरू त्यहाँ गएको देखिएको छ । दुवै भारतीयलाई साँझ कमलपोखरी वृतमा राखिएको थियो । स्रोतका अनुसार यस घटनामा प्रतिआतंकवाद हेर्ने प्रहरीको विशेष ब्युरोले अनुसन्धान गर्नेछ । विशेष ब्युरोले केही साताअघि जोरपाटीबाट दुई भारतीय सुटरलाई हतियारसहित पक्राउ गरेको थियो । ‘पक्राउ परेकाको विषयमा गहन र विस्तृत अनुसन्धान हुनेछ’, नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता मनोज न्यौपानेले भने ।
नेपाल प्रवेश रहस्यमय
पक्राउ परेका दुवै भारतीय मंगलबार साँझ सुनौली नाका हुँदै काठमाडौं आइपुगेका थिए । उनीहरू पन्जाबको नम्बर प्लेट भएको पीबी १० एफएस ७४४९ नम्बर भीएक्सआई मोडलको स्विफ्ट गाडीमा काठमाडौं आएका हुन् । काठमाडौं आएर उनीहरू हिमालय दर्शन होटलमा बसेका थिए । प्रहरीले उनीहरूले भारतबाट ल्याएको स्विफ्ट गाडी पनि नियन्त्रणमा लिएको छ । साथै उनीहरू बसेको कोठामा पनि खानतलासी लिइएको छ । ‘ठूलो मात्रामा उनीहरूका लत्ताकपडा कोठामा भेटिए । यसले गर्दा थप रहस्यमय देखिन्छ । दुई जना मान्छेको १५-२० जोर कपडा भेटिनु सामान्य कुरा होइन’, अनुसन्धानमा खटिएका प्रहरी भन्छन् । राजधानीमा पछिल्लो एक महिनाभित्र भएको यो तेस्रो गोलीकाण्ड हो ।
Comments
Post a Comment