पर्यटकलाई होटलभन्दा होमस्टे प्यारो

फलेवास: कतै बास बस्नुपर्दा होटलको खोजी गरिन्छ।तर यहाँ आउने पर्यटक भने होटल छाडेर स्थानीय होमस्टेतर्फ आकर्षित हुने गरेका छन्। लुंखुदेउरालीमा आउने पर्यटक स्थानीय होटललाई छाडेर होमस्टेमा बस्ने गरेका हुन्। पाँच वर्षेदेखि सञ्चालित चिसापानी कालिका होमस्टे पर्यटकको आकर्षकस्थल बन्ने गरेको छ।महाशिला गाउँपालिका-५ मा यामप्रसाद अधिकारीले सञ्चालन गरेको होमस्टेमा पोखराबाट बढीजसो पर्यटक आउने गरेका छन्। विशेषगरी फलामखानी क्षेत्र, महाशिला, लुंखु-चिसापानी पदमार्ग घुम्न आएका पर्यटक उक्त होमस्टेमा बस्ने गरेका छन्। 'लुंखुमा थुप्रै होटल छन्, तर पर्यटक बास बस्न चिसापानी कालिका होमस्टे आउने गरेका छन्”, स्थानीयवासी अशोक उच्चै ठकुरीले भने।

पर्यटकलाई होटलभन्दा होमस्टे प्यारो
पर्यटकलाई होटलभन्दा होमस्टे प्यारो

होमस्टे सञ्चालक अधिकारी स्थानीयस्तरमै उत्पादित वस्तुको परिकार तथा आफ्नै घरको जस्तो वातावरण पाएकाले पर्यटक होमस्टे आउने गरेको बताए।उनले काठमाडौँ र पोखराबाट होमस्टे अध्ययनकै लागि विद्यार्थी आउने गरेका बताए। होमस्टेमा बास बस्नेहरु पुनः दोहोर्‍याएर समेत आउने गरेका छन्। 'होमस्टेले गाउँमा विभिन्न काम लिएर आउनेलाई बास बस्न सहज भएको छ,' उनले भने। होमस्टेकै आम्दानीले घरखर्च चलाउन सहज भएको उनको भनाइ छ। लुंखुदेउराली मात्र हैन घरवास सुविधा भएका चित्रे, आर्थरडाँडाखर्क, लेस्पार, शालिजा, बाँसखर्क, बनौ, लेखफाँटलगायत क्षेत्रमा पनि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेको छ। पारिवारिक वातावरण र स्थानीयस्तरमा उत्पादित अर्गानिक खानेकुराका कारण पनि होमस्टेमा आउनेको सङ्ख्या बढेको आर्थरडाँडाखर्कका होमस्टे सञ्चालक इन्द्र गुरुङले बताए।

Comments