कपाल काटेरै लखपति
भेरी नगरपालिका ४ का उदाम नेपाली (३५) बिहान उठेदेखि बेलुका अबेरसम्म कपाल काट्नमै व्यस्त हुन्छन् । उनलाई खाजा र खान खानेसमेत फुर्सद हुँदैन । दारी, जुँगा र कपाल काट्न ग्राहकले पालो कुर्नुपर्छ । राम्रो कपाल काट्ने भनेर ग्राहकको रोजाइमा पर्छन्, उनी । आर्थिक अवस्था निकै कमजोर भएपछि गुजाराको लागि उनका आमा बुवा कालापहाड (भारत) गए । त्यतिवेला उनी चार वर्षका मात्र थिए । हिमाञ्चल प्रदेशको गढवालमा डेढ दशक बस्यो, उनको परिवार । त्यहीँ उनको बाल्यकाल बित्यो । ‘बाआमाले ज्याला मजदुरी गरेर परिवारको गुजारा चलाउनुहुन्थ्यो । त्यहीँ मैलै ७ कक्षासम्म पढेँ । १४ वर्षपछि स्वदेश फर्केर आयौँ । मेरो पढाइ रोकियो,’ उनले विगत सम्झे, ‘सम्पत्तिको नाउँमा भएको जीर्ण घर पनि भत्किसकेको थियो । १८ वर्षे मलाई निकै उराठ लाग्यो, आफ्नै जन्म थलोदेखि । सात जनाको परिवारको गुजारा कसरी चलाउने भन्ने चिन्ताले सताइरहेको थियो ।’
घरमा बसेर रोजगारी पनि नपाइने । बिहान–बेलुकाको छाक टार्नसमेत समस्या भएपछि विदेश गएर धेरै धन कमाउने अभिलाषा बुन्न थाले, उनले । एक लाख ६५ हजार रुपैयाँ ऋण काढेर दुई वर्षे मजदुर भिसामा उनी कतार गए । तर, १६ महिनामै फर्किए । सात महिनाको तलब पनि कम्पनीले खाइदियो । उनी कतारबाट रित्तो हात घर फर्किए । विदेशको हन्डरले उनको चेत खुल्यो । स्वदेश फर्केपछि अब केही व्यवसाय गर्नुपर्छ भन्ने उनमा सोेच थियो । तर, हातमा कुनै सीप थिएन । बिनातालिम साथीभाइ र परिवारका सदस्यको कपाल काट्दा काट्दै उनी कपाल काट्न सिपालु भइसकेका थिए । साथीभाइ र परिवारले कपाल काट्ने व्यवसाय सञ्चालन गर्न सल्लाह दिए । सोही सल्लाहलाई शिरोपर गरी उनले सदरमुकाममा एउटा कोठा भाडामा लिएर १४ वर्षअघि कपाल काट्ने व्यवसाय सञ्चालन गरे । व्यवसाय उनलाई फाप्यो पनि । अहिले कपाल काट्न जिल्लामै अब्बल मानिन्छन् उनी ।
इच्छाशक्ति भए कुनै पनि सीप सिक्न गाह्रो नभएको उनले प्रमाणित गरिदिएका छन् । सामान्य सीपबाट शुरु गरेको व्यवसाय अहिले ‘उदाम फेमस हेयर कटिङ’का नाममा स्थापित भइसकेको छ । घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता गराएर व्यवसाय सञ्चालन गरिरहेका उनी उक्त पेसाका प्रशिक्षकसमेत भइसकेका छन् । घरेलु तथा साना उद्योगको सहकार्यमा करिब पाँच सय युवाहरूलाई उनले कपाल काट्ने तालिम दिएका छन् । उनले मासिक ५०–६० हजार रुपैयाँसम्म कमाउँछन् । भन्छन्, ‘व्यवसायबाट निकै सन्तुष्ट छु ।’हातमा सीप हुनु नै सम्पत्ति रहेछ नेपालीले भने, ‘सीपबिनाको मानिस परनिर्भर हुन्छ ।’ कपाल काटेरै उनले विदेश जाँदा लागेको ऋण तिरेर घरघडेरीसमेत जोडिसकेका छन् । खानलाउनको कुनै पिरलो छैन । उनका दुई सन्तान छन् । छोरा स्थानीय एक सामुदायिक विद्यालयमा १० कक्षामा र छोरी निजी स्कुलमा चार कक्षामा अध्ययनरत छिन् । आफूले पढ्न नसके पनि छोराछोरीलाई उनीहरूले चाहेअनुसारको उच्च शिक्षा दिलाउने योजना उनी सुनाउँछन् । भन्छन्, ‘आर्थिक अवस्था कमजोर हुँदा हाम्रो परिवारलाई दलित भनेर सबैले हेला गर्थे दुई÷चार सय पनि कसैले पत्याउँदैन्थे, तर अहिले परिवारको आर्थिक अवस्था सुधार भएकोले सबैले सम्मान गर्न थालेका छन् ।’ उनको अचेल समाजमा बेग्लै पहिचान बनेको छ, एउटा सफल व्यवसायीको रूपमा । भन्छन् ‘परिश्रमी र मिहिनेती हुने हो भने विदेश जानै पर्दैन । स्वदेशमै आत्मसम्मानका साथ धेरै कमाउन सकिन्छ ।’
Comments
Post a Comment