अनलाइनखबरको चुनावी डाटा पोर्टल सुरु
८ मंसिर, काठमाण्डौं । यो वर्ष नेपाली राजनीति निर्वाचनमय बनेको छ । देशमा विभिन्न चरणका चुनावहरु आएसँगै नेपाली पत्रकारिता जगतले पनि नयाँ फड्को मारिरहेको छ । र, यही सिलसिलामा नेपालको नम्बर एक न्यूज पोर्टल अनलाइनखबर डटकमले आम चुनाव-२०७४ को अवसरमा ‘अन्तरक्रियात्मक डाटा पोर्टल‘ सार्वजनिक गरेको छ । अनलाइनखबरले केही महिनाअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा पहिलोपटक अन्तरक्रियात्मक डाटा पोर्टल सार्वजनिक गरेको थियो । नेपालको पत्रकारितामा निर्वाचनसम्बन्धी सूचना र समाचार प्रस्तुतीमा अनलाइनखबरको प्रयोगलाई पाठकहरुले नयाँ एवं ऐतिहासिक फड्कोका रुपमा ग्रहण गरेको पाइएको छ । स्थानीय चुनावपूर्व र मतगणनाका बेलासमेत उत्कृष्ट चुनावी परिणाम पस्किन सफल भएपछि पाठकको प्रतिक्रियाका आधारमा अहिले आम चुनाव बिशेष पोर्टल ल्याइएको अनलाइनखबरका संस्थापक एवं प्रधानसम्पादक धर्मराज भुसालले जानकारी दिए ।
‘स्थानीय तहको निर्वाचनका बेलाभन्दा अझै छिटो र परिस्कृत रुपमा प्रयोगकर्तालाई सजिलो हुनेगरी निर्वाचन मत परिणाम पाठकसमक्ष पुर्याउने छौं र पाठकहरुको सुझाव र सल्लाहका आधारमा हामी यो डाटा पोर्टललाई अझ समृद्ध बनाउँदै लैजानेछौं,’ भुसालले भने । हाल सार्वजनिक गरिएको डाटा पोर्टलमा प्रतिनिधिसभा र प्रदेश सभाका लागि बेग्लाबेग्लै खण्डमा भूगोल तथा उम्मेदवारहरुको विवरणमा समावेश गरिएको छ ।प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनसँग सम्बन्धित सूचनाहरु, जस्तै- भूगोल, जनसंख्या, उम्मेदवारहरु, प्रतिस्पर्धामा रहेका दलहरु तथा उम्मेदवारको प्रोफाइलसमेत यो पोर्टलमा समावेश गरिएको छ । प्रयोगकर्ताले नेपालको नक्सामाथि माउसओभर गरी विभिन्न निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका उम्मेदवारहरुको विवरण हेर्न सक्नेछन् । साथै निर्वाचन क्षेत्रको पेजमा गएर हट सिट, निर्वाचन क्षेत्रहरुको विवरण र त्यहाँ प्रतिस्पर्धा गरिरहेका उम्मेदवारको सूची प्राप्त गर्न सकिनेछ । उम्मेदवारहरुको नाममा क्लिक गर्दा उम्मेदवारको निजी तथा राजनीतिक जीवन र उतार-चढावबारे विस्तृत प्रोफाइलसमेत पढ्न पाइनेछ । पहिलो र दोस्रो चरणमा मतदान हुन लागेका चर्चित क्षेत्रहरुको स्थलगत रिर्पोटिङ, त्यहाँ प्रतिस्पर्धा गरिरहेका उम्मेदवारसँग प्रत्यक्ष अर्न्तवार्ता, त्यसका क्षेत्रका मतदातासँगको कुराकानीसमेत निर्वाचन बिशेष पोर्टलमा समावेश गरिएको छ ।
Comments
Post a Comment