किन बढ्दै छ युएईका नेपाली कलाकारहरुको ढुकढुकी ?
२२ नोभेम्बर, युएई । अंग्रेजी महिना नोभेम्बरका दिनहरु जतिजति घट्दै छन्, । युएईमा रहेका नेपाली कलाकारहरुको ढुकढुकी उतिउति बढ्दै छ ।रोजगारीसँगै कलाकारितालाई निरन्तरता दिदै युएईमा संघर्षरत नेपाली गायक, गायिका, मोडल, गीतकार तथा म्युजिक भिडियो निर्देशक र छायाँकारहरुले नेपालका व्यावसायिक कलाकारहरुसँगै दोस्रो म्युजिक भिडियो अवार्ड-२०१७ मा एउटै मञ्चमा सम्मिलित हुन पाउने भएपछि यहाँका नेपाली कलाकारहरुको ढुकढुकी बढ्न लागेको हो । डिसेम्बर १ तारिख युएईको राजधानी अबुधाबीमा आयोजना हुन लागेको दोस्रो म्युजिक भिडियो अवार्ड-२०१७ मा नेपाली कला क्षेत्रका करिब ४५ जना हस्तीहरुसँगै युएईमा कार्यरत ५० जना कलाकारहरु अवार्ड पाउने आशामा आवेदन दिएर बसेका छन् । स्थानीय आयोजक नमस्ते ट्राभलका सञ्चालक एकेन्द्र थापाका अनुसार दोस्रो म्युजिक भिडियो अवार्ड-२०१७ मा युएईमा श्रमरत करिब ५० कलाकारहरुले विभिन्न विधामा मनोनयन दर्ता गरेका छन् । संगीक्षा फिल्म र नमस्ते ट्राभलको संयुक्त आयोजनामा आगामी डिसेम्बर १ तारिख शुक्रबारका दिन आबुधाबीस्थित फोक्लर थिएटरमा भब्य रुपमा आयोजना हुन गइरहेको उक्त अवार्ड कार्यक्रममा अघिल्लो अवार्ड कार्यक्रमभन्दा अलि फरक शैलीमा हुने आयोजकको दाबी छ ।
दोस्रो म्युजिक भिडियो अवार्ड-२०१७ का लागि नेपालबाट करिब ४५ जना कलाकारका साथमा पत्रकारहरु, आयोजक टोलीका विशिष्ट व्यक्तिवहरु र प्राविधिकहरुको समेत उपस्थिति रहने छ । राष्ट्रियस्तरका अवार्ड कार्यक्रमहरु युएईमा भइरहेको विगत स्मरण गर्दै स्थानीय आयोजकको तर्फबाट नानुकाजी अर्यालले अनलाइनखबरसँग भने, ”युएईमा रहेर आफ्नो कामसँगै गीतसंगीतको क्षेत्रका कटिबद्ध कलाकारहरुलाई पनि प्रोत्साहन गर्न यो अवार्ड कोसेढुंगा सावित हुनेछ ।”उनले विभिन्न विधाहरुमा नोभेम्बर १ देखि १७ दिनको समयअवधिमा आवेदन खुलाएकोमा उत्कृष्ट म्युजिक भिडियो मोडल पुरुषमा १५ जनाको आवेदन परेको जानकारी दिए । त्यसैगरी उत्कृष्ट महिला मोडलमा ७ जना गरी जम्मा २२ जनाको आवेदन परेको अनलाइनखबरलाई जानकारी दिएका छन् । यस विधामा महिला र पुरुष गरी २२ जनामा २ जनाले अवार्ड पाउने छन् । त्यसरी नै उत्कृष्ट म्युजिक भिडियो गायक र गायिकामा १३ जना गायको आवेदन परेको छ भने ३ जना गायिकाको आवेदन परेको छ । यसमा पनि एकएक जना सर्वोत्कृष्ट गायक र गायिकाले अवार्ड पाउनेछन् । तेस्रो क्याटोगरीमा उत्कृष्ट म्युजिक भिडियो लिरिक्समा ४ जना पुरुष गीतकारको आवेदन परेकोमा एक जनाले अवार्ड पाउने व्यवस्था जुरीले गर्नेछ । त्यसरी नै उत्कृष्ट म्युजिक भिडियो निर्देशकमा ६ जनाको आवेदन परेको छ । यसमा पनि १ जनाले मात्र अवार्डबाट विभुषित हुने अवसर पाउनेछन् । युएई सेक्सनको उत्कृष्ट म्युजिक भिडियो छायाँकारमा मात्र २ जानको आवेदन परेको आयोजकले बताएको छ । यसमा पनि एक जनाले अवार्ड पाउने पक्कापक्की छ भने एक छायाँकारले तेस्रो म्युजिक अवार्डको प्रतिक्षा गर्नुपर्ने छ ।
स्मरण रहोस्, दोस्रो म्युजिक भिडियो अवार्ड-२०१७ को स्थानीय आयोजक नमस्ते ट्राभलले आगामी वर्षको अवार्ड युएईका सामाजिक तथा व्यावसायिक संस्थाहरुको आयोजनामा गर्ने पूर्वघोषणा गरेको छ । दोस्रो म्युजिक भिडियो अवार्ड-२०१७ मा नेपाली म्युजिक भिडियोको क्षेत्रमा विभिन्न २२ विधामा अवार्ड वितरण गर्ने कार्यतालिका बनेको छ । यसका लागि नायक विवेकसिंह ठकुरी, वीरेन्द्र हमाल, नायिका निरुता सिंह, नम्रता सापकोटा, सिपोरा गुरुङ, महिमा सिलवाल, हाँस्यकलाकार जितु नेपाल, लोकदोहोरी गायक खुमन अधिकारी, लोकनाथ सापकोटा, सञ्चारकर्मी नरेश भट्राई, विजय आवाज, कलाकार शंकर बिसी लगायतका हस्तीहरु युएई आउने भएका छन् । दोस्रो म्युजिक भिडियो अवार्ड-२०१७ को सफलताको लागि नेपालदेखि आउने सबै कलाकार, पत्रकार, आयोजक टोली र युएई रहेर नेपाली कला र संस्कृतिलाई विश्व सामु पुर्याउने सबै कलाकारहरुलाई स्थानीय आयोजकले धैर्य, अनुशासित भई स्थानीय कानुनको सम्मान गर्दै कार्यक्रमलाई सफल बनाइदिन आग्रह गरेको छ ।
Comments
Post a Comment