सस्तोमा आषधि किन्न बाटो खुल्यो - पूर्वस्वास्थ्यमन्त्री गगन थापाले बताए
काठमाडौं: सरकारले अन्तर्राष्ट्रिय मुलुक र त्यहाँका उद्योगसँग सोझै औषधि खरिद गर्ने र आफ्नै फार्मेसीमार्फत बिक्री–वितरण गर्ने बाटो खुलेको छ। पूर्वस्वास्थ्यमन्त्री गगन थापाको पालामा सरकारद्वारा गठित उच्चस्तरीय सुझाव समितिले सोझै औषधि खरिद प्रक्रिया अघि बढाउनुपर्ने प्रस्तावसहितको प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । देउवाले तत्कालै प्रतिवेदन कार्यान्वयनका लागि प्रक्रिया अघि बढाउन मुख्यसचिवलाई निर्देशन दिएका छन् । प्रतिवेदन कार्यान्वयन भएमा नागरिकले सस्तो मूल्यमा गुणस्तरीय औषधि खरिद गर्ने मौका पाउने पूर्वस्वास्थ्यमन्त्री गगन थापाले बताए । ‘म स्वास्थ्यमन्त्री भएलगत्तै स्विडेनलगायत मुलुकमा गएर औषधि खरिद प्रक्रियाबारे अध्ययन गर्ने मौका पाएको थिएँ। विभिन्न तहको अध्ययनबाट नेपालमा निकै सस्तोमा औषधि भिœयाउन सकिन्छ भन्ने हाम्रो निष्कर्ष थियो,' उनले अन्नपूर्णसँग भने, ‘त्यसपछि बनेको अध्ययन समितिले पनि त्यस्तै निष्कर्ष निकालेको रहेछ । जुन प्रधानमन्त्रीज्यूले स्वीकार गरी कार्यान्वयनका लागि निर्देशन दिनुभएको छ ।'
थापाले सरकारले सोझै अन्य मुलुकका सरकार र त्यहाँका उद्योगसँग औषधि खरिद गर्न मिल्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए । त्यसबारे मन्त्रिपरिषद्ले थप अध्ययन गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको संयोजकत्वमा सुझाव समिति गठन गरिएको थियो ।प्रतिवेदन कार्यान्वयन भएमा सबैभन्दा पहिले सरकारले औषधि खरिदका लागि कुनै निकाय तोक्नेछ । उक्त निकायको माध्यमबाट सरकार र अन्य मुलुकको सरकारबीच सम्झौता हुनेछ र त्यहाँका निजी औषधि उद्योगबाट पनि सिधै औषधि खरिद गर्न सकिनेछ । उक्त औषधि खरिदका लागि अनलाइनको माध्यमबाट सम्बन्धित उद्योग कम्पनीले बोलपत्र आह्वान गर्नेछ । सबैभन्दा सस्तो मूल्यमा दिने उद्योगसँग सरकारले औषधि गर्नेछ र अस्पतालमार्फत बिरामीलाई प्रदान गर्नेछ । त्यसो गर्दा बिरामीलाई ठूलो राहत मिल्ने थापाको विश्वास छ । उक्त प्रक्रियाबाट औषधि खरिद गर्दा ‘सरकारी अस्पतालको प्रयोजनका लागि मात्र' भन्ने उल्लेखसमेत गर्नु पर्नेछ । ‘सरकारले सोझै खरिद गरेको औषधि आफ्नै अस्पतालबाट बिक्री गर्दा धेरै औषधिको मूल्य सयौं गुणा कम हुनेछ ।औसतमा पनि हालको मूल्यभन्दा ५० प्रतिशत सस्तो पर्नेछ,' थापाले भने, ‘यसले नागरिक उपचारको पहुँचमा पनि पुग्नेछन् र उपचार शुल्क पनि सस्तो पर्नेछ ।'
नेपालले अन्तर्राष्ट्रिय मुलुकको सरकारसँग सिधै औषधि खरिद प्रक्रिया अगाडि बढाउन लागेको थाहा पाएपछि अन्य निजी कम्पनीले असन्तुष्टि व्यक्त गरेका थिए । उनीहरूले यस्तो प्रक्रियाबाट औषधि खरिद सम्भव नभएको समेत दाबी गरेका थिए । पूर्वस्वास्थ्यमन्त्री थापाले सरकारले कसैको रोजीरोटी खोस्न नभई उपभोक्तालाई सस्तो मूल्यमा औषधि प्रदान गर्न यस्तो प्रक्रिया अपनाउन लागेको बताए । ‘निजी कम्पनीले जसरी औषधि खरिद–बिक्री गर्दै आएका छन्, त्यसमा हामीले रोक लगाउन लागेका हौं । यसले उनीहरूको काम रोकिँदैन,' उनले भने ।
साभारः अन्नपूर्ण पोष्टबाट
Comments
Post a Comment