कबड्डीका झाँक्री फेला परे : उपेन्द्र सुब्बा

३१ कात्तिक, काठमाडौं । कबड्डीका झाँक्री फेला परे, ताल्छिखेलस्थित एक क्याफेमा । ‘खिर ख्वाएर गर्भवती हुने’ काइदा सिकाउने झाँक्रीको यतिबेला भने जटा थिएन, लामो कपाल सर्लक्क टुप्पीमा बाँधेका । दाह्री-जुँगा पनि मुडिएछ । जिन्स र ज्याकेटमा ठाँटिएर क्याफे अघिल्तिर पारिलो घाम तापिरहेका थिए ।‘झाँक्री भनेर हैरान पारे हौ, कवि भन्नु नजानेको नि ?’ ठेट पान्थरे टोनमा यति भनेर उनी एक राउन्ड यसरी हाँसे, आसपासमा चारो खाइरहेका परेवा भुर्र उडे । भीडमा देख्नै नहुने भनिहाल्छन् रे, ‘अबुई झाँक्री ।’ कतिले आफ्नो भ्रम निवारण गर्न यसरी केरकार गर्छन्, ‘साँच्चैको झाँक्री हो ?’

साभारः अनलाइन खबरबाट

झाँक्रीको ह्याङओभरले कहिले छाड्ने हो ? अत्तोपत्तो छैन । ‘कबड्डी’ र ‘कबड्डी-कबड्डी’ हलबाट उत्रिएको वर्षौं बित्यो । आफैंले लेखेको कथामा झाँक्रीलाई उनले मूल पात्र पनि बनाएका होइनन् । न सम्झनलायक । आफैं झाँक्री बन्ने चिताएका पनि थिएनन् । तर, नचिताएको भयो । एक सन्तले झाँक्रीको अफर अस्वीकार गरेपछि उनैले त्यसको भूमिका निर्वाह गर्नुपर्ने भयो । कथाले मागेजस्तो हुलिया आफ्नै टिममा भेटेपछि निर्देशक रामबाबु गुरुङ पनि किन टाउको दुखाइरहन्थे र ! ‘अपर्झट झाँक्री बन्नु पर्ने भैगो,’ उनले भने, ‘एक्टिङ गर्नु कम्ती लाज लागेको होइन । राम, दया सबैको अगाडि म त लाजले मरिहालें नि ।’

साभारः अनलाइन खबरबाट

जिन्दगीमा कहिल्यै नसोचेको काम थियो, अभिनय । त्यो पनि फिल्ममा । त्यसमाथि आफ्नै सहकर्मीहरुका अगाडि । आफ्नै टिमको फिल्ममा, झारो टारेर पनि भएन । राम्रै गर्नुपर्‍यो । भयो पनि त्यस्तै । खासमा त नि, त्यो क्यारेक्टर नेगेटिभ पो थियो,’ उनले भने, ‘त्यसलाई देखेर दर्शकलाई रिस उठ्नुपर्ने, रिसै उठेन त । बरु झाँक्री आउँदा हाँस्थे ।’खिर खुवाउने बहानामा महिलालाई यौन सम्पर्क गर्ने झाँक्रीको यो कथा उनले वास्तविक घटनाबाट सापटी लिएका थिए । इटहरीतिर एक झाँक्रीले ठीक यस्तै धन्दा चलाइरहेको कुरा कुनै दैनिक पत्रिकामा उनले पढेका थिए । त्यसैलाई उनले कबड्डीको झाँक्रीमा जोडे । ‘फिल्ममा त्यो झाँक्रीको कति मिस्टेक छ नि, मुस्ताङको त्यो गाउँमा कहाँ लिम्बू झाँक्री हुन्छ ? लिम्बू लवजमा बोल्ने,’ उनले आफ्नै पोल खोले, ‘किन दर्शकले नोटिस नगरेका होलान् भनेर छक्क पर्छु ।’

साभारः अनलाइन खबरबाट

Comments