फोहोरले भरियो मनास्लु

काठमाडौं : आरोहण दलले प्रयोग गरेका सामग्री जथाभावी फाल्दा मनास्लु हिमाल शरद ऋतुमै फोहोरले भरिएको छ । अनुगमन नहुँदा आरोहीले हिमालमा जथाभावी फोहोर फालेपछि प्रदूषण बढ्दै गएको हो । मनास्लु हिमालको चार क्याम्पमा मात्र यस वर्ष सयौं केजी फोहोर फालिएको भेटिएको छ । आरोहीले प्रयोग गर्ने ग्यास, ग्यास चुलो, खाना खान प्रयोग गर्ने ग्लास, टेन्ट, फलामका डन्डी, चाउचाउलगायत विभिन्न तयारी खाना प्याक गरिएका प्लास्टिक मनास्लु हिमालमा जथाभावी फालिएको पाइएको छ । चीनले यस वर्ष आफ्नो क्षेत्रबाट आरोहण गर्न अनुमति बन्द गरेपछि अधिकांश आरोही नेपालको मोहोडाबाट हिमाल आरोहण गर्न आएका छन् । शरद ऋतुमा ठूला हिमालका लागि ३९ अरोहण दलका तीन सय ११ र साना हिमालका लागि १९ दलका ३९ जनाले हिमाल आरोहणका लागि अनुमति लिएका थिए । आरोहण सफल बनाएर फर्कने क्रममा चौथो क्याम्पमा फोहोरको डंगुर देखेपछि आफूलाई दुःख लागेको बताउँदै तत्काल फोहोर संकलन गरी ल्याउन न्युजिल्यान्डका आरोही डिनले नेपाल सरकारसँग अनुरोधसमेत गरेका छन् ।
फोहोरले भरियो मनास्लु
न्युजिल्यान्डको ट्रेकिङ कम्पनी एडभेन्चर कन्सलटेन्टबाट ९ जनाको आरोहण दलले मनास्लु हिमालको आरोहण गरी फर्कने क्रममा जतासुकै फोहोर फालेको भेटेको उनले बताए । आरोहण दलका गाइड प्रकाश शेर्पाले असोज १६ गते दिउँसो फोहोरको फोटो र भिडियो कैदसमेत गरेका थिए । उनीहरू यस वर्षको शरद ऋतुमा आरोहण गरी फर्कने अन्तिम टोली हुन् । यस वर्ष मनास्लु हिमालमा आरोहीको घुइँचो लागेको थियो । गाइड शेर्पाले फोहोर व्यवस्थापनमा नेपाली कम्पनीमा कमजोरी पाइएको बताए । प्रत्येक क्याम्पमा हिउँमुनि फोहोर लुकाउने, नदेख्ने गरी अन्यत्र फ्याँक्ने गलत मानसिकताले हिमालमा फोहोर थुप्रिने गरेको बताए । आफ्नो कम्पनीले गरेका सामग्री नेपाली गाइडले नल्याउने गरेकाले हिमालमा फोहोर थुप्रिने उनको भनाइ छ धौलागिरि हिमालको दोस्रो क्याम्पमा पनि फोहोरै फोहोर रहेको उनले फोटो र भिडियो खिचेका छन् । मनास्लु हिमाल आरोहणमा अनुमति लिँदा पर्यटन विभागले एक आरोहण दलका लागि एजेन्सीसँग फोहोर व्यवस्थापनबापत तीन हजार अमेरिकी डलर लिने गरेको छ । हिमालमा फोहोर छाडे नछाडेको बारेमा मनास्लु संरक्षण क्षेत्रको सिफारिस पाएपछि मात्रै धरौटी रकम फिर्ता दिने गरेको छ । कागजी रूपमा फोहोर ल्याइँदा हिमाल प्रतिदिन प्रदूषित बन्दै गइरहेको छ । हिमालमा फोहोर नभएको भन्दै आरोहण दललाई मनास्लु संरक्षण क्षेत्रले सिफारिस दिएकाले विभागसँग धरौटी रकम भने बाँकी नभएको विभागका लेखा शाखाका तिलकराज पाण्डेले बताए । तर, हिमालमा फोहोर भने बढ्दो छ । सगरमाथामा पनि फोहोरै फोहोर । विश्वको सर्वोच्च शिखर सगरमाथामा पनि फोहोर पाइएको छ । ६४६० मिटरको दोस्रो क्याम्पमाथि फोहोरै फोहोर भेटिएको छ । टेन्ट, फलाम, प्लास्टिक, रबरजस्ता फोहोर यत्रतत्र छरिएको आरोही आङदावा शेर्पाले बताए । आरोही र कामदारले हिउँमुनि फोहोर लुकाउने गरेकाले हिउँ पग्लिएपछि फोहोर देखिएको उनको भनाइ छ । फोहोर व्यवस्थापनका लागि सम्बन्धित निकाय (टोली)ले नै फोहोर ल्याउनुपर्ने कानुनी व्यवस्था छ ।
पर्वतारोहणसम्बन्धी नियामवली २०५९ बुँदा २६ मा फोहोरमैला व्यवस्थापनका लागि धरौटी राख्नुपर्ने नियम छ । बुँदा २७ मा नष्ट गर्न सकिने, पुनः प्रशोधन गर्न सकिने, पुनः निकासी गर्नुपर्ने फोहोर-मैला भनी यकिन गरिएको छ । फोहोरमैला आरोहण गर्नुभन्दा अघि यकिन गरी नल्याए धरौटी जफत हुने र फोहोर स्वयंले ल्याउनुपर्ने व्यवस्था छ । यसको निगरानी सम्पर्क अधिकृत, सगरमाथा प्रदूषण नियन्त्रण संस्थालाई दिए पनि निगरानी नभएको पाइएको हो । फोहोरबारे आरोही र कामदारमा जनचेतना अभाव हुनु, ट्रेकिङ एजेन्सी जिम्मेवार नहुनु र सरसफाइ र अनुगमनको जिम्मा लिएको संस्थाको अनुगमन र निगरानी कमजोर हुनुले हिमालमा फोहोर बढेको हो । पर्यटन विभागका महाप्रबन्धक दिनेश भट्टराई फोहोर छाड्ने गरेको गुनासो बढेको स्विकार्छन् । स्थानीय निकायले हिमाल सफाइ र फोहोर व्यवस्थापनको जिम्मा दिने तयारीमा छलफल अघि बढाएको उनको भनाइ छ ।आधार शिविरसम्म पुगेर आरोहण दलको निगरानी र समन्वय गर्न सरकारले सम्पर्क अधिकृत खटाउने गरे पनि सम्बन्धित क्षेत्रसम्म नपुग्दा आरोहीले जथाभावी फोहोर फाल्ने गरेको अन्तर्राष्ट्रिय गाइड लाक्पा शेर्पाले बताए । नाङपाई, मुस्ताङ, धौलागिरि, सारेवुङ, अरनिको चुली, मकालु, ल्होत्से, नुप्त्सेजस्ता हिमालका विभिन्न क्षेत्रमा समेत फोहोर रहेको उनले बताए । अनुगमन निकायले पैसाको भरमा कागज बनाइदिने गरेकाले हिमालमै फोहोर छाडिने गरेको आरोही गाइडहरूको भनाइ छ ।
साभारः अन्नपूर्ण पोष्टबाट

Comments