सिसा फुटेको झ्यालबाट निस्किएर ज्यान बचाएँ

धादिङ : ‘धेरै यात्रु निदाइरहेका थिए, बस तिब्र गतिमा भएकाले घुम्ती सडकमा धेरै यात्रु अगाडिको सिटमा टाउँको ठोक्काइको पीडा सहदै बसेका थिए’, त्रिशुलीमा शनिबार बिहान ६ बजे भएको बस दुर्घटनाका घाइते सुरेन्द्र यादवले भने, ‘हेटौँडाबाट गाडी परिवर्तन गर्ने बित्तिकै ड्राइभरले एकदमै तिब्र गतिमा बस चलाएका थिए, एक्कासी पानीमा बस पसेपछि मात्रै हामीले दुर्घटना भएको थाहा पायौँ, पानीको आहालमा बस पौडी खेल्दै गर्दा सिसा फुटेको झ्यालबाट बाहिर निस्किएकाले ज्यान बच्यो ।’धादिङको गजुरी गाउँपालिका ५ घाटवेशीस्थित बाङगेघुम्तीबाट त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३१ पुगेको छ भने १६ जना घाइते भएका छन् ।

 
सिसा फुटेको झ्यालबाट निस्किएर ज्यान बचाएँ..

यही विभत्स दुर्घटनाका साक्षी सुरेन्द्र तिब्र गतिकै कारण बस त्रिशूलीमा खसेको बताउछन् । ‘तिब्र गतिमा बस नगुडेको भए यत्ति ठूलो क्षति भोग्नु पर्ने थिएन’, घाइते सुरेन्द्रले भने, 'तिब्र गतिकै कारण बसभित्रै हामी घाइते जस्तै भएका थियौँ ।’ हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख १४६७ नम्बरको बसमा अधिकांश सप्तरीका यात्रुहरु थिए । सप्तरीबाटै काठमाडौंका लागि छुटेको ना ६ ख १४६८ नम्बरको बस हेटौंडामा आइपुग्दा पट्टा भाँचिएपछि चालकले हेटौंडाबाट ना ६ ख १४६७ नम्बरको बसमा यात्रु राखेर चलाएका थिए । तिब्र गतिमा गुडाएको बस पृथ्वीराजमार्गबाट अन्दाजी २० मिटर तल सिधै त्रिशूली नदीको तालमा खसेको थियो । बस पानीमा डुबेपछि बसभित्रै च्यापिर यात्रुहरुको मृत्यु भएको दुघर्टना लगत्तै उद्धारमा पुगेको इलाका प्रहरी कार्यलय गजुरीका प्रहरी निरीक्षक बरुण सिंहले जानकारी दिए । पौडी खेलेर बाच्न सफल १६ मध्ये सप्तरी राजविराज ६ का दुर्गानन्द चौधरी र अभिषेक चौधरीको अवस्था गम्भीर छ। उनीहरुलाई गजुरी अस्पतालमा प्राथमिक उपचारपछि काठमाडौंस्थित ट्रमा सेन्टरमा पठाइएको छ भने १४ जनाको गजुरी अस्पतालमा उपचार भइरहेको छ।

Comments