बाँचुञ्जेल घाटमाः लास पोलेर जीवन गुजार्नेको कथा
काठमाडौं । मसान घाटमा बास छ, दिनहुँ मरेका मान्छे पोल्नुपर्छ ।



‘डर लाग्दैन ? भूतप्रेतले तर्साउँदैन ?’
जवाफ दिनुअघि उनी ओसिलो ठाउँमा टुक्रुक्क बसे । खल्तीबाट चुरोट निकाले । चुरोट सल्काउनभन्दा उनलाई जवाफ दिन हतारो थियो ।

‘मसान घाटमा तर्साउँदैन ? तर्साइहाल्छ नि । राति भूतप्रेतले उधुम मच्याउँछ,’ चुरोटलाई हातमै च्यापेर उनले भने ।
उनी यतिमै रोकिएनन् ।
‘जसले डराउँदिन भन्छ, त्यसलाई खुत्रुक्कै पारिदिन्छ । ठाउँको ठाउँ ठहरै पार्छ,’ उनी जोसिए ।
यसो भनिरहँदा उनको अनुहारमा कति पनि भय पोतिएको थिएन, जसले उनको मनोदशा अलि भिन्न रहेको संकेत गर्थ्यो । अनुमान गर्न गाह्रो थिएन, उनी अरुलाई भूतप्रेतको डर यसकारण देखाइरहेका थिए, राति आफ्नो सेरोफेरो सुरक्षित होस् । दिनभरको पसिना लुट्न कोही नआउन्, सुतिरहेको बखत २/४ सयका लागि घाँटी थिच्न कोही नआउन् ।

उमेरले ६७ हिउँद खेपेका ज्ञानप्रसाद गिरी सुनसान मसानघाटमै बस्दारहेछन् । त्यहीं खान्छन्, त्यहीं सुत्छन् । थानकोटको सुकुम्बासी बस्तीमा परिवार भए पनि त्यहाँ आउजाउ गर्न समस्या हुन्छ, उनलाई ।
ज्ञानप्रसादले हालसम्म हजारौं लास पोले । ती कसका लास थिए ? त्यसको उनलाई हेक्का छैन । तर, धनाढ्यदेखि अति निमुखासम्मका लास आफ्नै हातले जलाएको पृथक अनुभव उनीसँग छ ।
कोही कालगतिले मरेका, कोही अकालमै । कोही दुर्घटनामा परेका त कोही आफैंले पासो लगाएका । सग्लो तर मृत कायालाई निर्ममतापूर्वक जलाउनु उनको पेशा हो । कर्म हो, धर्म हो ।
दिनभरि लास पोलेर थाकेको ज्यानलाई उनी राति त्यही पौवामा विश्राम दिन्छन् । कुनै पनि बखत लास ल्याइन सक्छ । त्यसबेला जे-जस्तो अवस्थामा भए पनि धोती बेरेर जलाउन उनी तयार हुनुपर्छ ।
अहोरात्र घाटमै बास भए पनि ज्ञानप्रसाद भूतप्रेतबाट होइन जिउँदो मान्छेबाट सताइएका रहेछन् । त्यसैले उनी भूतप्रेतको ‘डिफेन्स’ लिएर आफूलाई सुरक्षित राख्ने प्रयासमा हुन्छन् ।
‘जसले भूत हुँदैन भन्छ, भूतले केही गर्दैन भन्छ, त्यसलाई ठाउँको ठाउँ ठहरै पारिदिन्छ,’ उनले भने ।
उनले बुझेअनुसार पशुपति आर्यघाट आफैंमा एउटा कुरुप संसार हो । त्यहाँ लुट्ने, ठग्ने, सताउनेहरुको झुण्ड छ । त्यही झुण्डदेखि हो उनको हरेक रात त्रासदीपूर्ण हुने गरेको ।
‘यतै हिँडिरहेका बेला लुट्नसक्छन्, राति सुतेका बेला घाँटी थिच्न सक्छन्,’ ज्ञानप्रसाद बिरक्तिए, ‘यहाँ आफ्नै ज्यानको ठेगान छैन
सत्यसँग साक्षात्कार
वागमति किनारमा एकपछि अर्को लास जल्दैछ । जसै लास दनदनी जल्न थाल्छ, वायुमण्डलमा त्यसको धुँवाको मुश्लोसँगै रोदन एवं चित्कार पनि गुञ्जिन्छ । घाटको अघिल्तिर मलामीहरु सल्बलाउँछन् । कुनै चिता फूलमालाले सजाइँदैछ, कुनैमा रापिलो आगो दन्किँदैछ ।
यही उदास परिदृश्य र परिवेशमा बाँच्ने पात्र हुन्, ज्ञानप्रसाद । उनको कानमा बारम्बार ठोक्किन्छ, ‘ओहो ! मान्छेको चोला पनि के हो र ?’
जब चिता अगाडि मलामीहरु उभिन्छन्, उनीहरु रसरंगपूर्ण जीवनलाई बिर्सन्छन्, क्षणिक रुपमा भए पनि । उनीहरुको अहंकार, दम्भ, लोभ, लालसा, आकांक्षा सबै फतक्कै गल्छ । र, जीवनको सत्यबोध हुन्छ ।
‘यहाँ आएपछि मान्छेको होस खुल्छ,’ ज्ञानप्रसादले भने ।
आखिर ज्ञानप्रसादलाई पनि त्यस्तै लाग्छ ।
‘यो हाँसखेल, यो रमाइलो कति दिन नै हो र !’ उनले भने, ‘दुईदिने चोला । आज छ, भोलि छैन । जीवनको के भर !’
‘घर न घाट’को चिन्ता

यो जुनीमा ज्ञानप्रसादले कहिल्यै रमाइलो गर्न पाएनन्, चाहेनन्, सकेनन् । रसरंगको दुनियाँभन्दा टाढै रहेर ६७ हिउँद गुजारे । यसबीचमा न उनी कतै घुम्न निस्किए, न मनोरञ्जन गर्न । जीवनको अधिकांश हिस्सा आर्याघाटमै बित्यो ।यो जुनीमा ज्ञानप्रसादले कहिल्यै रमाइलो गर्न पाएनन्, चाहेनन्, सकेनन् । रसरंगको दुनियाँभन्दा टाढै रहेर ६७ हिउँद गुजारे । यसबीचमा न उनी कतै घुम्न निस्किए, न मनोरञ्जन गर्न । जीवनको अधिकांश हिस्सा आर्याघाटमै बित्यो ।
थानकोटको सुकुम्बासी बस्तीमा घर छ । घर के भन्नु टहरा छ, त्यो पनि भूकम्पले भत्काएपछि आफ्नै बलबुतोले ठड्याएको । जस्तापाताले ओत लाग्ने ठाउँ बनाए । त्यहीं उनको परिवार बस्छ ।
दुःखजिलो गरेर ढुंगा माटोले घर ठड्याएका थिए । भूकम्पले स्वाहा बनाइदियो । टाठाबाठाले त थोर-बहुत राहत पाए । उनी भने रित्तै ।
‘हामीजस्तो निमुखालाई कसले दिने राहत,’ उनी फुस्फुसाए ।
‘थानकोटमा घर छ’ पनि भन्नु मात्रै । उनको बास घाटमै हुन्छ । घाटमा पनि पाखुरी चलाउन सकेसम्म बास पाइने हो । त्यसपछि ?
जीवनको उत्तरार्द्धमा आइपुग्दा पनि यसको जवाफ पाएका छैनन्, उनले ।
‘यहाँ समिति भन्छन्, के भन्छन्, सबै फटाहाहरु हुन्,’ उनी आवेगमा आए, ‘हाम्रै पसिनाले पालिएका ।’
हामीले भेट्दा उनी आफूलाई भित्री ज्वरोले केही दिनयता सताइरहेको बताउँदै थिए । उनलाई खोकी र ज्वरोले ग्रस्त बनाएको रहेछ । थोरै दूरी हिँड्दा पनि स्वाँ-स्वाँ सास बढिरहेको थियो ।
‘यी अब मर्ने बेला भइसक्यो, अझै पनि गाँस र बासको ठेगान छैन’ भन्दै उनले चुरोट सल्काए ।
घाटमा आउँदा उनी १६ वर्षे किशोर थिए, बैंश यहीं पाक्यो ।
‘त्यसबेला एउटा लास पोलेको ७० रुपैयाँ पाइन्थ्यो,’ उनले भने, ‘अहिले एक हजार पाइन्छ । तर, त्यो पनि आफ्नो हातमा पर्दैन । समितिले खै कता हो बैंकमा राखिदिन्छ रे ।’
एक छाके
लासको दुर्गन्ध, धुँवा अनि आफन्तहरुको रुवाबासी र कोलाहलकै बीच उनले खाना खानुपर्छ ।
‘लास जलाएपछि खाना रुच्छ ? घिन लाग्दैन ?’ हाम्रो प्रश्न ।
‘घिन ? लागेर के गर्नु ? काम नै यस्तो,’ उनको जवाफ ।
लाग्थ्यो, उनले लाज, घिन र डर पचाइसकेका छन् ।
लास पोलेपछि खाना नखाने कुरो भएन । खानैपर्यो । खानुअघि नुहाइधुवाइ गर्छन् रे ।
‘टाउको मात्रै भए पनि नुहाउँछु,’ उनले भने, ‘म अरुजस्तो होइन ।’
उनी सामान्य खाना खान्छन् । मलामीले आफ्नो दयामायाले २/४ पैसा दिएका छन् भने मासु खान्छन् । यति भएपछि एउटा सिंगो दिन गुज्रिन्छ ।
दिउँसो चियाको तलतल लाग्छ । राति खाना खाँदैनन् । पाए रोटी खान्छन् । त्यो पनि नपाए भोकै सुत्छन् ।
‘दिनमा एक छाक खाने हो,’ उनले भने, ‘राति पाए खान्छु, नपाए पनि ठीकै ।’
बच्चा पोल्न छाडे
कसैको शरीर जलाउँदा ज्ञानप्रसादको हृदय कत्तिको पग्लिएला ? लासप्रति उनको कस्तो अट्याचमेन्ट रहन्छ ?
‘अब दयामाया गरेर हुँदैन,’ उनले भने, ‘जस्तो भए पनि लास भनेको लासै हो ।’
धनी र हुनेखानेको लास जलाउन उनलाई कति पनि गाह्रो लाग्दैन । तर, कतिपय गरिब-दुःखी मरेका छन् भने उनको मन पग्लिन्छ ।
‘गरिबसँग लास जलाउने खर्च पनि हुँदैन, त्यस्तो बेला म आफैं खटेर राम्ररी काम गरिदिन्छु,’ उनले भने, ‘तर, यो धनी भन्ने, नेता भन्ने पोल्दा स्वाद लाग्छ ।’
कति मृत शरीरमा उनले आफ्नै बालबच्चाको प्रतिछाया देखे होलान् । त्यही कारण उनले बालबच्चा भने पोल्न छाडेका छन् ।
‘किन ?’ हामीले बुझ पचाएर प्रश्न राख्यौं ।
‘किन भन्ने ? खै किन, किन,’ यसो भन्दै गर्दा उनका आँखा हल्का रसाए । उनको बोली यति मात्र सुनियो, ‘माया लाग्छ ।’
‘दुर्व्यसनीलाई जिउँदै पोल्छु’
‘यो के के नचाहिने कुरा खान्छन् नि, त्यस्ता मुलालाई चाहीं म जिउँदै पोल भन्यो पनि पोलिदिन्छु,’ उनी उत्तेजित भए ।
उनको संकेत लागूऔषध दुर्व्यसनीतर्फ थियो ।
उनले पोल्ने लासमध्ये कति लागूऔषध दुर्व्यसनी पनि रहेछन् । लास हेरेरै उनी त्यसको मृत्युबारे अनुमान गर्नसक्दा रहेछन् । उमेर पुगेर मरेका, रोगले मरेका लासप्रति उनी निरपेक्ष छन् । तर, दुर्व्यसनीको कारण मृत्यु भएकाप्रति उनको कत्ति पनि सहानुभूति छैन ।
‘त्यस्तालाई त म जिउँदै जलाइदिन्छु’ यो वाक्य उनले पटक-पटक दोहोर्याए । आखिर किन उनी दुर्व्यसनीप्रति यति आक्रामक ?
‘आफ्नै त्यस्तै परेपछि,’ उनले बिरक्तिँदै भने, ‘साला त्यसलाई कति दुःख गरेर पढाएँ, हुर्काएँ । राम्रो मान्छे बनाउँछु भन्ने सोचेको थिएँ । गति छाडिदियो ।’
Source : OnlineKhabar
Comments
Post a Comment