अवैध घरेलु मदिरा बनाउने र बेच्नेविरुद्ध मुद्दा

विराटनगर : नेपाल-भारत सीमावर्ती क्षेत्रमा अवैध घरेलु मदिरा उत्पादन र बिक्री वितरण गर्नेलाई पक्राउ गरेर प्रहरीले मुद्धा चलाउन थालेको छ। विराटनगरको रानी क्षेत्रमा घरैपिच्छे अवैध घरेलु मदिरा उत्पादन र विक्री वितरण हुने गरेको पाइएपछि प्रहरीले नियन्त्रणका लागि कडाई गर्न थालेको हो। प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्री गर्ने धन्दामा संलग्न एक जनालाई मंगलबार पक्राउ गरेको छ। विराटनगर १५ का ४२ वर्षीय धिरज साहलाई पक्राउ गरेर मंगलबार नै सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्धा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले बताए।

अवैध घरेलु मदिरा बनाउने र बेच्नेविरुद्ध मुद्दा

साहको घरमा अवैध मदिरा बनाउने काम भइरहेको छ भन्ने सूचनाका आधारमा छापा मार्न पुगेको प्रहरी टोलीमाथि आक्रमण प्रयास गरेपछि साहलाई नियन्त्रणमा लिएर कारवाही अघि बढाइएको उनले बताए। ‘साहको घरमा बनाएको घरेलु मदिरा नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमणको प्रयास भयो,’ उनले भने, ‘लामो समयदेखि साहले घरमै अवैध मदिरा उत्पादन गरेर विक्री गर्ने काम गरिरहेका रहेछन्।’ निरौलाले अवैध रुपमा घरेलु मदिरा उत्पादन गर्ने र विक्री गर्ने सबै विरुद्ध प्रहरी कडा रुपमा प्रस्तुत भएको जानकारी दिए। जोसुकैले उत्पादन र विक्री वितरण गरे पनि पक्राउ गरेर कारवाही अघि बढाइने उनको भनाइ छ। उनका अनुसार प्रहरीले सीमावर्ती क्षेत्रमा अवैध घरेलु मदिरा नियन्त्रणका लागि अभियाननै चलाएको छ। मंगलबार मात्रै प्रहरीले विराटनगर १५ स्थित सुडी वस्तीका होटल र भट्टी पसलमा छापा मारेर ठूलो परिणाममा घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरेको हो। चारवटा घर तथा होटलबाट तयारी अवस्थामा रहेको चार सय लिटर घरेलु मदिरा, मदिरा बनाउन प्रयोग गरिने १० हजार लिटर कच्चा पदार्थ र मदिरा बनाउन प्रयोग गरिने पाँच सय थान भाँडावर्तन समेत बरामद गरिएको जानकारी निरौलाले दिए। घरेलु मदिरा बनाउने र विक्री गर्ने एक जनालाई नियन्त्रणमा लिए पनि अन्य फरार रहेका कारण खोजी तीव्र बनाइएको उनले बताए। बरामद मदिरा आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाइने प्रहरीले जनाएको छ। ‘विगत लामो समयदेखि भारतसंग सीमा जोडिएका सीमावर्ती क्षेत्रका सबै जसो घरमा अवैध रुपमा घरेलु मदिरा उत्पादन गरेर बजारसम्म पुर्‍याएर बिक्री गर्ने गरिएको पाइयो,’ निरौलाले भने, ‘घरघरमा अवैध मदिरा उत्पादनका लागि कारखाना नै संचालन गरिएका रहेछन्।’ घरेलु मदिराकै कारण घरेलु हिंसा लगायतका विभिन्न अपराधिक घटनामा वृद्धि भएपछि प्रहरीले नियन्त्रणका लागि चासो दिएको उनको भनाइ छ। निरौलाले अपराधिक गतिविधी बढाउने, शान्ति सुरक्षाको अवस्था भंग गर्ने, मानव स्वास्थ्यमा गम्भीर असर गर्ने, राज्यको कर छली गर्ने लगायतका कारणले नेपाल–भारत सीमानाको दशगजा क्षेत्र आसपासलाई लक्षित गरेर घरेलु मदिरा नियन्त्रण अभियानलाई प्रहरीले प्राथमिकताका साथ संचालन गरेको बताए। भारतको बिहारमा भारत सरकारले मदिरा बिक्री र सेवनमा प्रतिबन्ध लगाएसंगै सेवनका लागि सीमावर्ती नेपाली भूमीमा आउने भारतीयको संख्या पछिल्लो समय बढेको छ।


Source : AnnaPurnaPost

Comments